Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यार्थी संगठनमा चुनावी चहलपहल

आइतबार, पुस २४, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठन पनि आन्तरिक तयारीमा जुटेका छन् ।

 

१ दशकदेखि हुन नसकेकाे स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी संगठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी संगठन निर्वाचन केन्द्रित छलफलमा जुटेका छन् ।

 

यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताए ।

 

उनले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताए । उनले त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी संगठनसँग छलफल गर्नुपर्ने बताए ।

 

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताइन् । उनले मिति तोकिएसँगै आफ्नो संगठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताइन् । उनले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा डोर्‍याउनेसमेत बताइन् ।

 

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताए । उनले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने बताए ।

 

अनेरास्ववियुका महासचिव समिक बडालले त्रिविले स्ववियु निर्वाचनको मिति तोकेसँगै आफ्नो संगठन तयारीमा जुटेको बताए । उनले केन्द्रीय पदाधिकारीको बैठक बसी स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको बताए ।

 

यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्