जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार
पाँचथर –पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएको छ ।
भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
भर्खरै ५० शै्याको भवन निर्माण सम्पन्न भएको अस्पतालमा अहिले जेनरल सर्जरी डा. प्रान्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. देउमान लिम्बू, एनेस्थेसियोलिष्ट एण्ड क्रिटिकल केयर डा. गणेश वनलाई विशेषज्ञ चिकित्सकका रूपमा अस्पतालले नियुक्ति दिएको हो ।
अब नयाँ विशेषज्ञ चिकित्सक आएपछि अस्पतालबाट हाडजोर्नी तथा नशारोग, ओपिडी सेवा, हाडजोर्नी रोगसम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओपिडी सेवा, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया सेवा उपलब्ध गराउन थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामराज आङदेम्बेले बताए ।
पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको उनले बताए । अहिले अस्पतालमा ४ विशेषज्ञ चिकित्सक छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति आफैँले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नशारोग विशेषज्ञ राखेको छ । यस्तै छात्रवृत्तिमा रहेका २ चिकित्सकलाई पनि अस्पतालले थप सुविधा दिएर राखेको छ ।
अहिले अस्पतालमा जेनेरल सर्जन, एनेस्थेसियोलिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन् । अस्पताल प्रमुख भने एमडीजिप हुन् । ५० शै्याको अस्पतालको भवन भए पनि अझै १५ शै्याकै मात्र दरबन्दी रहेको छ । यस्तै अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुनसकेको छैन ।
अहिले अस्पतालबाट निःशुल्क नवजात शिशुरोग, निःशुल्क प्रसूति, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, एकद्वार लैङ्गिक सङ्कट व्यवस्थापन, निःशुल्क सुरक्षित गर्भपतनलगायतका सेवाहरू सञ्चालन भइरहेको छ ।