Nic Ad Nic Ad
Nic Ad Nic Ad

यो सरकारले विश्वासको मत पाएन भने नयाँ सरकार धारा ७६ (३) अनुसार बन्छ : ओली

'देउवाले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा संविधानको धारा बिर्सिए'
आइतबार, पुस २४, २०७९

काठमाडौँ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशी विदेशी शक्तिहरूले नचाहेको सरकार बनेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा संविधानको धारा बिर्सिएको टिप्पणी गरेका छन् ।


‘जसले गठबन्धनका साथीहरूलाई प्रधानमन्त्रीको प्रस्ताव गरे, उनीहरुले संविधानको कुरै भुलेछन्’, उनले टिप्पणी गदै भने, ‘तर प्रधानमन्त्री प्रस्ताव गर्नेलाई ‘तपाईंले मलाई कुन धाराअन्तर्गत प्रधानमन्त्री बनाउनुहुन्छ?’ भन्दा ए त्यो चाहिँ मिलेनछ भनेछन् ।’


आइतबार धुलिखेलमा आयोजित जनसङ्गठन सुदृढीकरण कार्यशाला बैठकको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने पनि बताए ।


‘२६ पुसमा विश्वासको मत ढाल्न खोज्नेहरू यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ उनले भने, ‘सरकारविरूद्ध अनेक प्रयास भएका छन् । हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ । सरकार पनि टिक्छ ।’


अध्यक्ष ओलीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउने गरेको बाचा पूरा गरेको बताए । 


सरकार गिराउने कांग्रेसको अहिलेको प्रयास व्यर्थै जाने पनि बताए । 


‘अहिलेको गठबन्धनका कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाइरहेका रहेका छन्’, ओलीले भने, ‘अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको छ । यो सरकारले पुस २६ मा बहुमत ल्याउन सकेन भने नयाँ सरकार निर्माण संविधानको धारा ७६ उपधारा ३ मा जान्छ ।’

गठबन्धन फुटाउन प्रधानमन्त्री दिने आश्वासन फेल खाएपछि कांग्रेसले नयाँ कार्ड खेलिरहेको उनको भनाइ छ । ‘प्रधानमन्त्री दिने कुरा संविधानअनुसार पनि नमिलेपछि फेरि उपप्रधानमन्त्री र सभामुख दिउँला भनेर फकाएछन्’, उनले भने ।

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्