आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमा ध्यान दिन राष्ट्रपतिको जोड
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पुँजी निर्माणका लागि उत्पादनमा केन्द्रित हुनुपर्ने बताएकी छिन् । उनले निजी क्षेत्र तथा सरकार सबै पक्ष मिलेर लाग्न आवश्यक रहेको बताइन् ।
‘आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पुँजी निर्माणका अब उत्पादनमा केन्द्रित हुनुको विकल्प छैन, यसका लागि निजी–सरकारी, सबै पक्षहरू लाग्न आवश्यक छ,’ बैंक तथा वित्तिय परिसंघ नेपालको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन् ।
‘बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्छ, आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण र यसैमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिन्छ’, उनले भनिन् ।
राष्ट्रपति भण्डारीले आन्तरिक तथा बाह्य कारणको प्रभाव तरलता संकुचन, विदेशी मुद्राको सञ्चितिमा दबाबसँगै पछिल्लो समय राजस्वको संकुचनसमेत आन्तरिक उत्पादनको कमजोरी उपज रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले सरकारसँग पुँजी निर्माणका लागि उपयुक्त उद्देश्य हुँदाहुँदै पनि उद्यमशीलता र रोजगारी सिर्जनामा भने सोचेअनुसारको काम नभइरहेको बताइन् ।
आन्तरिक उद्यमशीलता र रोजगारीको सिर्जनामा राम्रो काम नभएकै कारण देशको अर्थतन्त्र संकटोन्मुख भएको राष्ट्रपतिको भनाइ छ ।
‘देशमा आन्तरिक उत्पादन वृद्धि गर्न नसकिँदा अर्थतन्त्रमा चुनौती थपिएको हातरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पादनमूलक क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले चुनौती थपेको हो’, राष्ट्रपति भण्डारीले भनिन् ।
मूल्य वृद्धिलाई रोकेर राख्नु मुख्य चुनौती : गभर्नर अधिकारी
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वमा भइरहेको मूल्य वृद्धिलाई नेपालले रोकेर राख्नु मुख्य चुनौती भएको बताएका छन् ।
‘विश्व अर्थतन्त्र २०२१ र २२ मा निरन्तर घट्दो क्रममा छ, मूल्य वृद्धि भइरहेको छ, विश्वमा भएको मूल्य वृद्धिको असर नेपालमा पनि स्वाभाविक देखिन्छ । आउने वर्ष मूल्य वृद्धिलाई स्थिर गराउन सक्नु हाम्रो मुख्य चुनौती हुनेछ,’ गभर्नर अधिकारीले भने ।
आर्थिक मन्दीकै कारण महँगी नियन्त्रणमा पनि चुनौती देखिएको उनको भनाइ छ । ‘आर्थिक मन्दीकै कारण महँगी नियन्त्रण पनि चुनौतीपूर्ण अवस्थामा पुगेको छ,’ गभर्नर अधिकारीले भने ।
उनले संसार नै मन्दीको वातावरणमा गएकाले नेपालमा त्यसको बाछिटा पर्नु स्वाभाविकै रहेको बताए ।
विश्वभर परेको आर्थिक मन्दीको प्रभाव सन् २०२३ मा नेपालमा पनि देखिएको बताउँदै उनले यही कारण निर्माण क्षेत्रमा सुस्तता देखिएको बताए ।
‘१ दशकमा नेपालले बैंकिङ क्षेत्रमा प्रगति गरेको छ’
उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाले विगत १ दशकमा नेपालको बैंकिङ क्षेत्रले उपलब्धिपूर्ण काम गरेको बताएका छन् । आफूले अर्थतन्त्रका बारेमा गरेको कामले सफलता पाएकामा खुसी व्यक्त गर्दै खतिवडाले पुँजीकरण वृद्धिको लाभ कृषि क्षेत्रले लिन नसकेको सुनाए ।
बैंकहरूमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास बढेको खतिवडाको भनाइ छ । ‘देशको वित्तीय प्रणालीले ठुलो फड्को मारेको छ । बैंकहरूमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास बढेको छ । बैंकिङ पुँजी बजारलगायत सम्पूर्ण वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको छ,’ उनले भने ।
बैंकहरूले डिजिटल र इन्टरनेटमा कारोबार गर्न थालेपछि अझै सजिलो भएको उनले स्मरण गरे । ‘१० वर्षपहिले हामीले लेजर खाता पल्टाएर भुक्तानी तथा कारोबार फछ्र्यौट गर्ने अवस्थामा केन्द्रीय बैंक इन्टरनेटमा कारोबार गर्ने गरी अग्रसर नभएको भए महाभूकम्पका कारण भौतिक संरचना ध्वस्त भएको अवस्थामा तत्काल सरकारी कारोबार र बैंकिङ सेवा सुचारु हुन सम्भव थिएन,’ खतिवडाले भने ।
उनले डिम्याट खाता खोल्नेमा जनसंख्यालाई आधार मान्ने हो भने भारतभन्दा नेपाल अगाडि रहेको सुनाए । ‘नेपालमा अहिले ५५ लाख डिम्याट खाता छन् । पुँजी बजारको सयौँ वर्ष लामो इतिहास भएको भारतमा जनसंख्याको अनुपातमा ६ प्रतिशत मात्रै रहँदा नेपालमा १९ प्रतिशत पुगेको छ,’ उनले भने ।