Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदेशबाट पुनः श्रम स्वीकृति मात्र : बिदेसिने कामदारले काठमाडौँ धाउनुपर्ने बाध्यता हटेन

आइतबार, पुस २४, २०७९

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको हकमा विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति जारी गर्न थालेको छ । आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति जारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गरेर काम थालिएको श्रम मन्त्रालयले जानकारी दिएको छ । 


श्रम मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट भने यसअघिदेखि नै श्रम स्वीकृति जारी गर्दै आएको थियो । यी प्रदेशबाट अहिले पुनः श्रम स्वीकृतिको काम मात्र भइरहेको श्रम कार्यालय ताहाचलले जनाएको छ । सोहीअनुसार अहिले सातै प्रदेशबाट पुनः श्रम स्वीकृतिको मात्र काम हुने छ । 


वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न सातै प्रदेशमा शाखा स्थापना गरिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन् ।


भौतिक उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब सबै प्रदेशबाट अनलाइनमार्फत लिन सकिने उनले बताए । ‘अहिले सातै प्रदेशबाट पुनः श्रम स्वीकृतिको काम मात्र भइरहेको छ । केही महिनाभित्र सबै प्रदेशबाट श्रम स्वीकृतिको काम हुन्छ । तत्काल नयाँ अथवा अन्तिम श्रम स्वीकृतिका लागि भने राजधानी नै आउनुपर्छ ।’ 


उनले भने, ‘सरकारले रोजगारीको खोजीमा रहेका अथवा वैदेशिक रोजगारीमा जाने कामदारका हकमा श्रम स्वीकृतिलाई सहज बनाइरहेको छ । अब सबै काम अनलाइनबाट सजिलो गरी हुन्छ । विगतभन्दा धेरै सहज पनि हुँदै गएको छ ।’


सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा स्वदेश र विदेशमा पनि व्यवस्थित बनाउने प्रयास भइरहेको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने कामदारको आधारभूत सेवा दिने निकायको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने भन्दै श्रम मन्त्रालयले २०७५ सालबाट प्रदेशबाट श्रम स्वीकृति दिने निर्णय गरेको थियो ।


वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको योजनाअनुसार श्रम स्वीकृतिका लागि कार्यालय विस्तार गरिएको श्रम मन्त्रालयको दाबी छ । 


यसअघि प्रदेशबाटै श्रम स्वीकृति लिन नमिल्ने अवस्थाका कारण विदेश जान चाहनेले काठमाडौँ आउनुपर्ने बाध्यता थियो । अहिले पनि वैदेशिक रोजगारीमा जाने कामदारले अन्तिम श्रम स्वीकृतिका लागि भने काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । 


वैदेशिक रोजगारीमा जाने कामदारको हकमा उपत्यका बाहिर अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको सुविधा नभएका कारण पनि वैदेशिक रोजगारीमा जाने कामदार काठमाडौँ आउनैपर्ने बाध्यता छ ।


हालै सञ्चालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा बिदेसिने कामदारले उपत्यका टेक्नैपर्ने बाध्यता रहेको रोजगार व्यवसायीहरू बताउँछन् । 


सातै प्रदेशमा श्रमका शाखाका कार्यालय स्थापना भए पनि स्वास्थ्य, उडान र अभिमुखीकरण तालिमको सुविधा नभएका कारण अहिले प्रायः सबै कमदार यी सेवाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता कायमै रहेको रोजगार व्यवसायी सुजित श्रेष्ठले जानकारी दिए । राहदानी बनाउन र म्याद थप्न पनि काठमाडौँ नै आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्