पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाल दोस्रो
काठमाडौँ– नेपाली टोली ‘डीआरएस गेमिङ’ले जारी पब्जी मोबाइल विश्व च्याम्पियनसिप प्रतियोगितामा दोस्रो स्थान हात पारेको छ ।
मलेसियामा भएको प्रतियोगितामा समूह चरणमा उत्कृष्ट प्रदर्शन गरी फाइनल चरणमा पुगेको नेपाली टोलीले विश्व च्याम्पियनसिपको दोस्रो स्थान हात पारेको हो । जितसँगै नेपाली टोलिले ३ करोड नेपाली रुपैयाँ जितेको छ ।
नेपाली टोलिलाई हौसला दिन मलेसिया पुगेका काठमाडौँ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत नेपालले दोस्रो स्थान हात पार्नु ऐतिहासिक सफलता भएको बताएका छन् । उनले याे जित नेपाली खेलकुदमा सबैभन्दा ठूलो सफलता भएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘ऐतिहासिक सफलता। बिश्व च्याम्पियनसिपमा नेपाली टोलि दोश्रो भएको छ । लगभग ३ करोड रुपैया जितेको छ डीआरएस गेमिङले । यो कुनै पनि नेपाली खेलकुदमा सबै भन्दा ठूलो सफलता हो ।'
पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा विश्वभरबाट छानिएका ४८ टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए ।