Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेखुवा–चखेवाभञ्ज्याङ सडक ६ महिनाभित्र कालेपत्रे गर्ने ठेकेदार कम्पनीकाे लिखित प्रतिबद्धता

आइतबार, पुस २४, २०७९

काठमाडौँ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ कालोपत्रको काम छ महिनाभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ ।

 

ठेकेदारको ढिलासुस्तीले ठेक्का सम्झौता तोड्ने चरणमा पुगेको उक्त सडक कालोपत्रको काम आगामी असार मसान्तसम्ममा पूरा गर्ने भन्दै स्वयम् ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौँले लिखित प्रतिबद्धता जनाएको हो । 

 

सेखुवा–चखेवा भञ्ज्याङ सडक कालोपत्रको काम अलपत्र पारेपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय, धुलिखेलले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको केही समयपछि खोटाङको साकेला गाउँपालिका प्रमुख रविप्रकाश राईको रोहवरमा मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम सम्पन्न गर्ने आठबुँदे प्रतिबद्धता जनाएका छन ।

 

प्रतिबद्धतापत्रमा हाल निर्माण कार्य भइरहेको सडकमा सवारी साधनको निर्बाध आवागमनका लागि नियमित सडक मर्मतसम्भार गर्ने, चखेवाभञ्ज्याङतर्फबाट सब–बेसको काम सुरु गरेर माघ २५ गतेसम्म सम्पन्न गर्ने र माघ २६ गतेदेखि बेस लेइङको काम सुरु गर्ने उल्लेख छ । 

 

यस्तै, चैत पहिलो सातादेखि डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने, अन्य भेसेलेनियसको बाँकी काम निर्माण अवधिभित्र सम्पन्न गर्ने, फागुन मसान्तभित्र कङ्क्रिट पेभमेन्टको काम सम्पन्न गर्ने, मध्यपहाडी लोकमार्ग योजना कार्यालयले आवश्यकताअनुसार प्राविधिक अनुगमन, निरीक्षण तथा दैनिक कार्य गर्न सहयोग गर्ने उल्लेख छ । ठेकेदारले प्रतिबद्धतापत्रमा उल्लेख गरेका कार्यतालिकाअनुसार काम नगरेमा ठेक्का सम्भौता तोड्न आफैँ लागिपर्ने साकेला गाउँपालिका प्रमुख राईले बताए । 

 

काम सुरु गरेको सात वर्षसम्म सडक कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारले असारसम्ममा काम पूरा गर्नेमा भने आफूहरु विश्वस्त हुने ठाउँ नरहेको सेखुवाका स्थानीय इन्द्रबहादुर रोकाले बताए।  “चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको ठेकेदारबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था छैन”, उनले भने, “सडक कालोपत्रको काममा ढिलासुस्ती हुँदा विशेषगरी बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएको छ ।”

 

गत पुस १७ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयलाई ज्ञापनपत्र पठाउँदै उक्त सडकखण्डको कालोपत्रको ठेक्का सम्झौता तोड्न माग गरेको थियो । ठेकेदारले सडक कालोपत्रको काम पूरा गर्ने छाँट नदेखिएको भन्दै मध्यपहाडी लोकमार्ग योजना कार्यालयले ठेक्का तोड्न गत मङ्सिर १८ गते सडक विभागसमक्ष सिफारिस गरिसकेको जनाइएको छ । 

 

ठेकेदार कम्पनीले विसं २०७५ फागुन–३० भित्र सम्पन्न गर्नेगरी विसं २०७२ चैत २ गते सम्झौता गरेको थियो । छिमेकी जिल्ला भोजपुर हुँदै सङ्खुवासभाको किमाथाङ्का जोड्ने उक्त सडकको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड फराकिलो पार्ने र मेसिनरी वाल (सिमेन्ट र ढुङ्गाको पर्खाल) लगाउने बाहेक अन्य काम भएको छैन ।  

 

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको दिक्तेलतर्फ यसअघि नै कालोपत्र सम्पन्न भएर सञ्चालनमा छ । दिक्तेलबाट करिब ४६ किलोमिटर लामो उक्त सडकखण्ड पाँच भागमा विभाजन गरेर काम कालोपत्रको काम सुरु गरिएको थियो । यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै पङ्खु खोलाको मोटरेबल पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रक्रियामा लगिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख डिभिजन इन्जिनियर दीपेन्द्र बताएका छन ।

 

सम्झौता म्याद नाघेको झन्डै चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्स्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिएको हो ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्