Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउनयता राष्ट्रिय प्रणालीमा थपियो १५३ मेगावाट बिजुली

पूरा होला ८०० मेगावाटको प्रक्षेपण ?
सोमबार, पुस २५, २०७९

काठमाडौँ– साउनयता विभिन्न ११ वटा जलविद्युत् आयोजनाबाट १५३ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपिएको छ । 


चालु आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाट बिजुली प्रणालीमा थपिने प्रक्षेपण गरे पनि पुस १५ सम्म राष्ट्रिय प्रणालीमा १५३ मेगावाट मात्र बिजुली जोडिएको हो । 


सोही अवधिमा २७.५ मेगावाट क्षमताका दुइटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर विद्युत् उत्पादनको परीक्षणमा छ । हाल उक्त आयोजनाको बिजुली ग्रिडमा जोडिन बाँकी नै छ ।


मध्यमोदी जलविद्युत् आयोजनाबाट १८ मेगावाट र मध्य सोलुखोलाबाट ९.५ मेगावाटको विद्युत् परीक्षण भई राष्ट्रिय प्रणालीमा जोडिँदा १८०.५ मेगावाट थपिनेछ । 


प्रणालीमा थपिएकोमध्ये ३ वटा सोलार परियोजना छन् । सोम राधाकृष्ण सोलार फार्म परियोजना सम्पन्न भएर ४ मेगावाट बिजुली ग्रिडमा जोडिएको छ । सिमरा सोलार परियोजनाबाट १ मेगावाट र ग्रिड कनेक्सन सोलार परियोजना (नवलपरासी) बाट ५ मेगावाट बिजुली उत्पादन भई प्रणालीमा जोडिएको हो ।


त्यस्तै, साउनयता २८.१ मेगावाटको तल्लो लिखु, २७ मेगावाटको दोर्दीखोला, ८.६ मेगावाटको चेपेखोला, १२ मेगावाटको दोर्दी–१, ४.९ मेगावाटको पुवा–२, ०.९९९ मेगावाटको साइतीखोला, ३६ मेगावाटको माथिल्लो बलेफी–ए र २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली ग्रिडमा जोडिएको हो ।


विद्युत् उत्पादन हुनेमध्ये अधिकांश निजी क्षेत्रको लगानीका जलविद्युत् परियोजना छन् । प्राधिकरणले यस वर्ष विभिन्न ५७ वटा जलविद्युत् आयोजनाबाट ८११ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ ।


योसँगै हालसम्म नेपाल विद्युत् प्राधिकरणको कुल जडित विद्युत् उत्पादन २ हजार ३४५.७९७ मेगावाट पुगेको छ । जसमध्ये, नेपाल विद्युत् प्राधिकरणको ६६१.३४ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४७८.१ मेगावाट र निजी क्षेत्रबाट १ हजार २०६ मेगावाट बिजुली उत्पादन भई प्रणालीमा जोडिएको हो । 


आउँदो माघसम्म २ हजार ९०० मेगावाट बिजुली ग्रिडमा थपिने प्रक्षेपण रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले क्यानडा नेपाललाई जानकारी दिए ।


चालु आवमा करिब ८०० मेगावाट बिजुली निजी क्षेत्र र प्राधिकरणका सहायक कम्पनीबाट समेत उत्पादन भई ग्रिडमा थपिएमा कुल जडित क्षमता ३ हजार मेगावाटभन्दा बढी हुने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्