गुल्मेलीको जहाज चढ्ने सपना साकार बन्दै : पहिलो डेमोस्ट्रेसन उडान सफल
गुल्मी - रेसुङ्गा विमानस्थलमा पहिलो डेमोस्ट्रेसन उडान सफल भएको छ । आइतबार गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौर स्थित रेसुङ्गा विमानस्थलमा तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० जहाजले सफल डेमोस्ट्रेसन उडान गरेको हो ।
विमानमा गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी,चालक दलका सदस्य सहित १६ जनाको टोलीसहित अवतरण गरेका थिए ।
शिलान्यास भएको १६ वर्षपछि डेमो उडान
वि.सं २०६३ साल देखी सुरु गरिएको रेसुङ्गा विमानस्थलमा १६ वर्षपछि तारा एयरले सफल डेमो उडान गरेको छ । डेमो उडान सफल भयसँगै विमान चढेर यात्रा गर्ने गुल्मेली जनता आशा फेरी जाग्न थालेको छ ।
वि.सं.२०६३ सालमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप कुमार ज्ञवालीद्वारा शिलान्यास भएको रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २५ गते तारा एयरको विमानले सफल धुले उडान गरेको थियो । काम सम्पन्न भए लगत्तै वैशाख महिनादेखि नियमित जहाज उडानको प्रतिबद्धता गरे पनि त्यो प्रतिबद्धतामा नै सीमित थियो ।
विमानस्थलमा जहाजको सफल उडान भयसँगै एकातिर विमान चढेर यात्रा गर्ने गुल्मीवासीको सपना पुरा हुने र अर्कोतिर गुल्मीको आर्थिक तथा पर्यटन क्षेत्रको विकासले फड्को मार्ने स्थानीय महेश श्रेष्ठले बताए ।
काठमाडौँबाट उडेको विमान ४५ मिनेटमा गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । गुल्मीको विमानस्थल निर्माण,रनवे ,टावर र पार्किङ्कको काम राम्रो गरिएको क्याप्टेन सन्जीव श्रेष्ठले बताए । क्याप्टेन श्रेष्ठले भने यो विमानस्थल सुरक्षित र भरपर्दो देखिएको छ यहाँबाट हप्तामा एक पटक उडान गर्ने सकिन्छ ।
कारोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाइ २० मिटर रहेको छ । विमानस्थलको पार्किङ ६० मिटर लम्बाई ३० चौडाइ रहेको छ । हाल सम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको छ ।
यस विमानस्लथवाट नियमित उडानको लागि रेसुङ्गा नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरी विमान स्थल निर्माणको काम थालिएको थियो ।