कोरोनाका कारण बन्द चीनको अन्तर्राष्ट्रिय सीमा खुल्यो
काठमाडौँ– कोभिड–१९ को संक्रमण सुरु भएपछि चीनले बन्द गरेको अन्तर्राष्ट्रिय सीमा सोमबारदेखि खुला गरेको छ ।
चीनले सन् २०२० को मार्चबाट बन्द गरेको सीमा ३३ महिनापछि खुला गरेको हो । अब चिनियाँहरू विदेश भ्रमणमा जान र विदेशीहरू चीन भ्रमणमा जान पाउने भएका छन् ।
चीन जाने विदेशीहरूले क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर, उनीहरूले ४८ घन्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भने प्रस्तुत गर्नुपर्नेछ । सीमा बन्द हुँदा विदेशमा फसेका लाखौँ चिनियाँहरू घर फर्कन पाएका थिएनन् ।
हङकङकबाट मात्रै ४ लाखभन्दा बढी चिनियाँहरू तत्कालै मुख्य भूमि फर्कने तयारीमा छन् । हङकङ, मकाउ, क्वाङतोङ प्रान्तबाट डबल डेकर बसहरू यात्रु ओसार्न तयारी अवस्थामा छन् ।
३ वर्षसम्म परिवार भेट्न नपाएकाहरू घर फर्कन हतारमा रहेको पाइएको छ । आगामी साता लाखौँ मानिस मुख्य भूमि चीन पुग्ने अनुमान गरिएको छ । चिनियाँ नयाँ वर्ष छुनयुनको अवसर पारेर चीनले अन्तर्राष्ट्रिय सीमा खुला गरेको हो ।
यो वर्षको नयाँ वर्षमा चीनमा २ अर्ब मानिसले यात्रा गर्ने अनुमान गरिएको छ । गत वर्षकोभन्दा यो दोब्बर संख्या हो । शून्य कोभिड नीति लिएको चीनमा जनस्तरमा आक्रोश बढेर प्रदर्शन हुन थालेपछि सरकार कोभिड नीतिमा पुनर्विचार गर्न बाध्य भएको थियो ।