निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन : मुख्यसचिव बैरागी
काठमाडौँ– नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
सोमबार ग्लाेबल आइएमई बैंक र बैंक काठमान्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने उनको दाबी छ ।
पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको भन्दै मुख्यसचिव बैरागीले अर्थतन्त्रका सूचकहरूमा समेत सुधार हुँदै गइरहेको अवस्थामा २ बैंकहरू मर्जर भई देशकै ठुलो बैंक बनेको ग्लोबल आइएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने अपेक्षा गरे ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउनेबारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरे ।
अध्यक्ष अग्रवालले बैंकको ब्याजदरमा केही कम गर्न सके उद्योगी र व्यवसायीहरूको मनोबल उच्च बन्ने सक्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष अग्रवालले ग्लोबल आइएमई बैंक देशकै ठुलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिए ।