Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंक तथा वित्तीय संस्थाको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर अधिकारी

सोमबार, पुस २५, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् ।

 

सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

बैंक तथा वित्तीय संस्थाहरू मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरू स्वस्थ र सबल बन्ने उनको दाबी छ । बैंकहरूको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने भन्दै गभर्नर अधिकारीले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने धारणा राखे ।

 

‘सिस्टम र अर्थतन्त्रले खोजिरहेको विषय बैंक, वित्तीय संस्थाहरू मर्जर भइराख्दा हाम्रो वित्तीय प्रणाली थप सुरक्षित हुनेछ, संस्थाहरू थप स्वस्थ हुनेछन् । थप सबल हुनेछन् । यो सालमात्रै १४ वटा बैंक मात्रै मर्जर भएको अवस्था छ । मर्जरमा राम्रो उपलब्धि भएको छ । बैंकहरू ठुला र संस्थाहरू मर्जर भइराख्दा बैंक वित्तीय संस्था आफैँमा सेल्फ रेगुलेसनमा पनि जानुपर्ने हुन्छ,’ गभर्नर अधिकारीले भने ।

 

उनले बैंक मर्जरमा यस वर्ष राम्रो उपलब्धि भइरहेको पनि बताए । वित्तीय साक्षरतासँगै वित्तीय कारोबार बढ्ने अपेक्षा धेरै बैंक हुँदा गरिएको भए पनि त्यो पूरा नहुँदा राष्ट्र बैंकले मर्जरको नीति लिनुपरेको दाबी गरे ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्