मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव टुँडिखेलमा गरिने
काठमाडौँ– नेपाल मगर सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव गरिने भएको छ । आगामी पुस २९, ३० र माघ १ गते काठमाडौँको टुँडिखेलमा हुने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने सङ्घले जनाएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले महोत्सवमा मगरहरुको मौलिक, सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, वेशभूषा र मगर जातिको मौलिक खेल हुने जानकारी दिए।
महोत्सवमा धनुष बाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम आयोजना गरिने बताइएको छ । कार्यक्रममा मगर समुदायका अन्य सङ्घ संस्थाहरुको पनि प्रतिनिधित्व रहने पुनको भनाइ थियो । यही पुस २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मगरहरुको परम्परित खेलहरू क्षलो हान्ने र धनुष बाणलगायत शुभकामना आदानप्रदानको कार्यक्रम रहेको छ भने माघ १ गते बिहान १० बजे भृकुटीमण्डपबाट ¥याली निकाल्ने सङ्घले जनाएको छ ।
महोत्सवमा उपस्थिति भएर मगरको मौलिक, संस्कृति, वेशभूषा, खानपिन, मौलिक खेललगायतका गतिविधिको अवलोकन गर्न अध्यक्ष पुनले सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन । “यो देशका विभिन्न जातजातिमध्ये मगरको एउटा बृहत् र गर्विलो इतिहास छ । हामीले त्यसको रक्षा गर्दै समग्र मगर समुदायको समृद्धिका लागि यो अभियानमा सबै दाजुभाइ दिदीबहिनीलाई जोडिन आग्रह गर्दर्छौँ”, अध्यक्ष पुनले भने।
संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै सरकारले सांस्कृतिक अभिलेखीकरणको अभियान सुरु गर्नुपर्ने सङ्घको माग छ । सङ्घले संंस्कृति जातिभन्दा माथि उठेको विषय भएकाले यसलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएको छ । कार्यक्रममा सङ्घका उपमहासचिव खगेन्द्र पुन, सहअध्यक्षहरू गङ्गाबहादुर थापा मगर र गङ्गाखासु मगर, महासचिव टेक नाम्जाली मगर लगायतको उपस्थिति रहेको थियो ।