बङ्गलादेशका प्रतिपक्षी दलका दुई शीर्ष नेता रिहा
ढाका–बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेतालाई पक्राउ गरिएको एक महिनापछि सोमबार रिहा गरिएको अधिकारीहरूले बताएका छन् ।
बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री मिर्जा अब्बासलाई राजधानी ढाकाबाहिरको जेलबाट मुक्त गरिएको प्रहरीले जनाएको छ ।
मध्य ढाकास्थित बिएनपी मुख्यालयमा सयौँ समर्थकले उनीहरूलाई स्वागत गरेको पार्टीका प्रवक्ताले बताए । बिएनपी कार्यालयमा आलमगीरले पत्रकार, नेता तथा कार्यकर्तासँग संक्षिप्त कुराकानी गरेका थिए ।
बीएनपीले एक दशकयताकै सबैभन्दा ठूलो राजनीतिक र्याली आयोजना गर्नुभन्दा एक दिनअघि डिसेम्बर ९ मा शीर्ष नेता आलमगीर र अब्बासलाई पक्राउ गरिएको थियो ।
पार्टीले आफ्ना दुई हजारभन्दा बढी कार्यकर्तालाई पक्राउ गरिएको, कम्तीमा एक जनाको गोली हानी हत्या गरिएको र हजारौँलाई प्रहरीले र्यालीमा सहभागी हुनबाट रोकेको आरोप लगाएको छ ।
गत डिसेम्बर ७ मा सयौँ विपक्षी कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा प्रहरीसँग झडप हुँदा हिंसा भड्किएको र प्रहरीको काममा अवरोध पु¥याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बीएनपीकी अध्यक्ष खालिदा जियाले १० वर्षको जेल सजाय भुक्तान गर्न थालेयता आलमगीर बङ्गलादेशका सर्वोच्च विपक्षी अधिकारी हुन् । जियाका छोरा र उत्तराधिकारी लण्डनमा निर्वासित जीवन बिताइरहेका छन् । उनलाई आजीवन काराबासको सजाय पनि सुनाइएको छ ।
हालैका वर्षहरूमा आलमगीर देशको प्रमुख विपक्षी व्यक्तित्वको रूपमा उदाएका छन् । उनले मध्यमार्गी, दक्षिणपन्थी र वामपन्थी दलहरूको विविध समूहलाई भेला गर्दै देशभरि सरकारविरूद्ध शृङ्खलाबद्ध प्रदर्शनहरूको आयोजना गरेका थिए ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकारको नेतृत्वमा नयाँ निर्वाचनको मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै हालैका महिनाहरूमा बङ्गलादेशमा विद्युत् कटौती र इन्धनको मूल्यवृद्धिका कारण विरोध प्रदर्शन सुरु भएको छ ।
गिरफ्तारीको बाबजुद, बीएनपीले डिसेम्बर १० मा राजधानीमा कम्तीमा एक लाख समर्थकहरूको उपस्थितिमा विशाल प्रदर्शन गरेको थियो र पार्टीका सांसदहरूले भ्रष्टाचार र सरकारको दमनको विरोधमा संसद्बाट राजीनामाको घोषणा गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घसँगै पश्चिमा सरकारहरूले पनि एसियाको सबैभन्दा तीव्र आर्थिक वृद्धि दर भएको मुलुकमध्येको एक बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । -रासस/एएफपी