Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसोमा छालाको स्याहार कसरी गर्ने ?

मंगलबार, पुस २६, २०७९

काठमाडौँ– चिसो बढ्ने क्रम जारी छ । चिसोका कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छन् । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो । 


चिसो मौसमका हावा एकदमै चिसो हुने गर्छ । र, चिसो हावाका कारण छाला पनि सुख्खा हुनेलगायत विभिन्न समस्याहरू देखापर्ने छाला रोग विशेषज्ञहरू बताउँछन् । चिसोमा छाला सुख्खा हुनुमा हावाका साथै अन्य विभिन्न कारण हुन सक्छन् ।


छाला रोग विशेषज्ञ डाक्टर शम्भु दत्तका अनुसार चिसो मौसममा बालकदेखि वृद्धवृद्धासम्म विभिन्न समस्या देखिने गर्छन् । जसमा मुख्य भनेको छाला सुख्खा हुने हो । जसले गर्दा छाला चाउरी पर्ने गर्छ । जाडोमा छालामा सुख्खापन बढ्ने भएकाले प्रोटिनको कमी हुन्छ, जसले शरीर चिलाउने समस्या हुन्छ । त्यसकै कारण विभिन्न घाउ खटिरासमेत देखापर्ने गर्छ । 


पछिल्लो समय अस्पतालमा प्रायजसो छाला सुख्खा भएका, लुतो, चायालगायत समस्या लिएर बिरामीहरू आउने गरेको डाक्टर दत्तको भनाइ छ । शरीरमा पानीको कमी, घामको हानिकारक विकिरण, तातो पानीले नुहाउनेलगायत कारणले पनि छाला सुख्खा हुने गर्छ । 


अहिले विश्वभर नै वातावरणमा विभिन्न परिवर्तन आइरहेको छ । जसले गर्दा नेपालको मौसम फेरिने समय पनि परिवर्तन भइरहेको छ । त्यसकारण अब मौसम कहिले परिवर्तन हुन्छ भन्नेबारे पनि नयाँ क्यालेन्डर निर्माण गरिनुपर्ने उनको भनाइ छ । 


डाक्टरहरूका अनुसार चिसोमा छालासम्बन्धी समस्याबाट बच्न नियमित रूपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्न आवश्यक छ ।

सामान्यतया चिसो मौसमबाट छालालाई सुरक्षित राख्न घरेलु उपायहरू पनि अपनाउन सकिन्छ । 


त्यसका साथै छालासम्बन्धी डाक्टरहरूसँग पनि परार्मश लिनुपर्ने डाक्टर दत्तले बताए । 

छालाको समस्याबाट कसरी बच्ने ?


घरमा प्रयोग हुने रुमाल, साबुन फरक–फरक प्रयोग गर्ने

आगो अथवा हिटर धेरै नताप्ने

जाडोमा पनि लामखुट्टे बढेकाले त्यसबाट बच्ने 

चिसो पानीले ननुहाउने, तर मनतातो पानी प्रयोग गर्न सकिन्छ

झोलिलो पदार्थ सकेसम्म धेरै खाने गर्ने 

दिनमा कम्तीमा २ देखि ३ लिटर पानी खाने

धेरै मसला प्रयोग भएका खानेकुरा नखाने 

छालामा केही समस्या आएको खण्डमा छालाको डाक्टरलाई देखाउने 

डक्टरको सल्लाहबिना कुनै औषधि नखाने 

नरिवलको तेल, मह, जैतुनको तेल, एलोभेराको पेस्ट बनाएर अनुहारमा लगाउने ।

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ०६:५६
प्रतिक्रिया दिनुहोस्