प्रभु र सेञ्चुरी कमर्सियल बैङ्कको एकीकृत कारोबार सुरू
काठमाडौँ– प्रभु बैङ्क र सेञ्चुरी कमर्सियल बैङ्कको एकीकृत कारोबार मङ्गलबार सुरू भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरेपछि आज प्रभु बैंकको नामबाट पहिलो कारोबार सुरु भएको हो ।
मर्जरमा जाने सम्झौता दुबै बैङ्कबीच १५ साउनमा भएको थियो । प्रभुले १ः१ स्वाप रेसियोमा प्राप्ति गरेको हो । यसर्थ सेञ्चरी बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १०० कित्ता नै सेयर पाउनेछन् । प्रभु बैंकको १०० कित्ता बराबर सेञ्चुरी बैंकको १०० कित्ता नै हुने अनुपातमा मर्जर भएको हो ।
दुबै बैङ्कको १४ पुसमा बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
सेन्चुरी बैङ्कलाई प्राप्ति गर्न प्रभु बैंकलाई नेपाल राष्ट्र बैङ्कले १९ पुसमा अन्तिम स्वीकृति दिएको हो ।
हाल प्रभु बैङ्कको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैङ्कको १० अर्ब रूपैयाँ छ । प्राप्तिपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।