पब्लिक बसमा १ दिन : कता हरायो बालेनको योजना ? (भिडियो)
काठमाडौँ– काठमाडौँ उपत्यका अझ रिङरोडमा चल्ने सार्वजनिक यातायात र त्यसमा सवार गर्ने यात्रुको समस्या नौलो होइन । भनेको बेला गाडी नपाउनु, पाइहाले पनि बस्ने त परको कुरा उभिने ठाउँसम्म नहुनु अनि त्यसमाथि गाडीका सहचालकको व्यवहार काठमाडौँमा यात्रा गरिरहनेहरूका लागि नौलो विषय होइन ।
विशेष गरी अफिस, स्कुल/कलेज जाने र फर्किने समयमा बसमा धेरै भिडभाड हुने गरेको छ । बसका सिटमा महिला, वृद्ध तथा अपाङ्गता भएकालाई सिट त छुट्ट्याइएको हुन्छ । तर ती सिट सम्बन्धित व्यक्तिले हम्मेसी पाउँदैनन् ।
रिपोर्टिङका क्रममा क्यानडा नेपालको टिमले काठमाडौँका सार्वजनिक सवारीसाधनका चालक, सहचालक र यात्रुसँग कुराकानी गरेको छ ।
सडकमा हिँडिरहेका ३ युवतीतर्फ हाम्रो टोली लम्किएर सोध्यो– ‘कता जान लाग्नुभएको ? निकै हतारमा देखिनुहुन्छ नि !’
उनीहरूको जबाफ थियो– ‘हामी जान लागेको बस एकदमै कोचाकोच थियो । जसोतो चढिहाल्दा पनि बीचमा जाम भएर बत्रो बेर रोक्छ, त्यसैले हामी त हिँडेर नै जान लागेको । हिँडेर जाँदा बरु चाँडै पुगिन्छ ।’
हामीले प्रश्न गर्यौँ– ‘सार्वजनिक गाडीको यात्रा सधैँ यस्तै हो ? कि आजमात्रै यस्तो भोग्नुभयो ?’
एक युवतीले ‘सधैँ यस्तै त हो नि । कहिलेकाहीँ अलि भिड कम हुन्छ, तैपनि बसेर यात्रा गर्न त सम्झिनेमात्रै हो, उभिनसम्म चाहिँ पाइन्छ ।’
‘उभिएर यात्रा कत्तिको सहज लाग्छ ?’ हाम्रो प्रश्न भुइँमा खस्न नपाउँदै अर्की युवतीले अलि रमाइलो लवजमा उत्तर दिँदै पीडा पोखिन्– ‘अरूलाई त ठिकै होला, हामीजस्ता पुड्का व्यक्तिलाई चाहिँ गाह्रै हुन्छ । झुन्डिनलाई हाम्रो हाइट नै पुग्दैन ।’
उनीहरूसँगको बातचित बिट मारेर हामी लाग्यौँ अर्कैतिर । सडक किनारमा उभिएकी थिइन्, स्कुल छुट्टी भएर गाडी पर्खिरहेकी एक विद्यार्थी ।
उनलाई हामीले सोध्यौँ– ‘केमा जाने नानी घर ?’
‘गाडीमा जाने हो । तर एकदमै भिड हुन्छ गाडी,’ उनी हामीसँग कुरा गर्दै थिइन्, उनकी दिदीले ‘गाडी आयो’ भन्दै उनलाई लिएर गइन् । उनीहरू चढेको गाडी नियाल्यौँ । गाडीमा उभिने यात्रुको कोचाकोच बाहिर झ्यालबाटै अनुमान गर्न सकिन्थ्यो ।
रिपोर्टिङका क्रममा हामी ६–७ वटा बस स्टप पुगेर यात्रुको प्रतिक्रिया लिँदा धेरैले आफ्नो पीडा सुनाए भने कतिले राज्यप्रति आक्रोश पोखे ।
गाडीमा यात्रा गर्दै गर्दा धेरै महिलाले अरूबेला ठिकै भए पनि महिनावारीको समयमा भने उभिएर यात्रा गर्न एकदमै असहज हुने बताए । कतिपयले यात्रा दौरान यौन दुव्र्यवहार भोगेको तितो यथार्थ सुनाए । भिडभाडको मौकामा ‘ब्याड टच’का घटना भोगेका महिला यथेष्ट भेटिए ।
यात्राको क्रममा अत्यधिक यात्रु कोच्ने र यात्रुलाई ‘अलिकति पछाडि सर्नु’, ‘त्यहाँ त्यत्रो ठाउँ छ त’, उतापट्टि फर्केर उभिनु न’, ‘त्यो ब्याग निकाल्नु त’ भन्दै सहचालकले गर्ने व्यवहार र रुखो बोलीले पनि धेरै यात्रुलाई पीडा दिएको छ भने कति आक्रोशित बन्ने गरेका छन् । केही भन्यो कि त कसैले त भनिदिन्छन्– त्यस्तो आरामदायी यात्रा गर्न मन भए आफ्नै गाडी किन्नु नि ! किन पब्लिक बस चढ्नु ?
काखमा बच्चा लिएर सिटमा बसेका यात्रु उभिएका मान्छेले आफ्नो बच्चालाई ठोक्काउलान् वा किच्लान् भनेर सकसपूर्ण बसाइमा रहेको पनि हामीले देख्यौँ । निदाएका बच्चालाई ठक्कर लाग्दा बेस्सरी रुन्थे, तर पनि बच्चाका आमा लाचार थिए । कसलाई के भन्नु अनि भनेर के गर्नु ?
हामीले बसका सहचालकलाई प्रश्न गर्यौँ– ‘किन यसरी कोचेर यात्रु राखिन्छ ?’ उनले उत्तर दिए– ‘नकोचेर के गर्नु ? तेल हाल्न पैसा पुग्दैन, तेल महँगो छ ।’
फेरि प्रश्न गर्यौँ– ‘कतिले त यात्रुलाई गाली गर्ने, रुखो व्यवहार गर्ने गरेको देखिन्छ, तपाई चाहिँ गर्नुहुन्छ कि हुन्न ? यात्रुसँग झगडा परेको छ ?’
‘पर्छ झगडा कहिलेकाहीँ । कसैले २५ रुपैयाँको ठाउँमा २० रुपैयाँ दिएर जानुहुन्छ । विभिन्न किसिमका हुन्छन् मान्छे । भनेको नमानेपछि झगडा पर्छ,’ उनले उत्तर दिए । यत्तिकै झगडा गर्ने नभई यात्रुकै व्यवहारका कारण कहिलेकाहीँ बोली रुखो हुनु, झगडा गर्नु सामान्य विषय भएको उनले सुनाए ।
यी सबै समस्याका बीच यात्रुसँग अन्य कुनै विकल्प छैन । अफिस जानै छ, स्कुल/कलेज जानै छ । बिरामी हुँदा अस्पताल जानु नै छ । बस्नै नपाए पनि, सजिलो गरी उभिने ठाउँ नपाए पनि यात्रा गर्नैैपर्ने बाध्यतामा छन् काठमाडौँबासी ।
कतिपय महिला/युवतीलाई थाहा हुन्छ– आज पनि ममाथि ब्याड टच हुने छ, तैपनि ती सबै कुरा सहन तयार हुँदै गाडी चढ्नुपर्ने बाध्यता छ, मैले मर्नुपर्छ भनेर जान्दाजान्दै लडाइँमा हिँडको सिपाहीझैँ ।
सार्वजनिक गाडीमा यात्रा गर्दा कतिले आफ्नो पर्स गुमाएका छन्, कतिले मोबाइल अनि कतिले आत्मसम्मान । हजारौँ सपना बुनेर काठमाडौँ खाल्डो छिरेका लाखौँ मानिस आधारभूत मानिएको सार्वजनिक यातायातको विकराल अवस्थासँग जुधिरहेका छन् ।
देशको संघीय राजधानी काठमाडौँ । देशका अन्य ७६ वटै जिल्लाका मानिस विभिन्न सपना बुनेर आउने गन्तव्य । तिनै ७६ जिल्लाका मानिसका कारण चलेको छ काठमाडौँ । तिनै मानिसका कारण यहाँको बजार र अर्थतन्त्र चलायमान छ ।
काठमाडौँमा बस्नेहरूका लागि केही गर्छु भनेर काठमाडौँ महानगरपालिकामा मेयरको रुपमा निर्वाचित भएका छन्– युवा इन्जिनियर बालेन्द्र शाह उर्फ र्यापर बालेन । स्थानीय तह निर्वाचनअघि उनले दिएका अन्तर्वार्तामा काठमाडौँको सार्वजनिक यातायातलाई पहिलो प्राथमिकता दिएर व्यवस्थित गर्ने बताएका उनले महानगर हाँकेको पनि ८ महिना पूरा भइसकेको छ ।
तर उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नु त परको कुरा, कुनै ठोस योजनासमेत ल्याउन सकेका छैनन् । यसका लागि न संघीय सरकारले कुनै पहल गरेको छ न त प्रदेश सरकारले नै यसमा कुनै चासो दिएको छ ।