एनभीए क्लब भलिबलमा एपीएफको विजयी सुरुआत
काठमाडौँ–विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले सातौँ राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपको महिला स्पर्धामा विजयी सुरुआत गर्दा न्यु डायमन्ड स्पोर्ट्स क्लबले सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा एपीएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।
महिलातर्फ मंगलबार नै सम्पन्न अर्को खेलमा न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएर सेमिफाइनलमा स्थान बनायो । न्यु डायमन्डले एभरेस्टलाई पहिलो सेटमा २५–७, २५–१० र २५–१२ को स्कोरमा हराएको हो ।
योसँगै समूह ‘बी’बाट न्यु डायमन्ड र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । पुलिस र न्यु डायमन्डले समान ६ अंक जोडेका छन् । समूहको अन्तिम खेलमा हुने न्यु डायमन्ड र पुलिसबीचको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।
यो समूहमा रहेका नयाँ बजार सामाजिक युवा क्लब र एभरेस्ट प्रतियोगिताबाट बाहिरिएका छन् । दुई क्लबबीच सान्त्वना जितका लागि प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’मा एपीएफले पहिलो खेल खेल्यो । एपीएफले गण्डकीलाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–१० र तेस्रो सेट २५–११ को स्कोरमा हराएको हो । एपीएफकी स्पाइकर सरस्वती चौधरी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
प्रतियोगितामा मंगलबार पुरुषतर्फ चार खेल हुनेछन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले डोरपाटन स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा न्युटन भलिबल एकेडेमीले गण्डकी प्रदेशविरुद्ध खेल्नेछ । तेस्रो खेलमा मणिमुकुन्द भलिबल स्पोर्ट्स क्लबले दवाली मिलन क्लबसँग खेल्नेछ । अन्तिम खेलमा बूढानीलकण्ड भलिबल स्पोर्ट्स क्लबले मधेस प्रदेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।