Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिनावारीमा के हो डिस्मेनोरिया ?

बुधबार, पुस २७, २०७९

काठमाडौँ– महिनावारी एक प्राकृतिक र स्वाभाभिक प्रक्रिया हो । यसलाई शारीरिक परिवर्तनमध्यको एक परिवर्तन पनि मानिन्छ ।


महिनावारी कसैलाई छिटो त कसैलाई ढिलो हुने गर्छ । कसैकसैमा भने ९ वर्षको उमेरदेखि नै महिनावारी सुरु हुने गर्छ । सामान्य रूपमा महिनावारी १२ वर्ष देखि १५ वर्षको उमेरमा सुरु हुने गर्छ । 


सामान्यतयाः महिनावारीलाई ३० दिनको मासिक चक्र मानिन्छ । यदि कुनै पनि महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिसपिरियड’ अर्थात् अनियमित महिनावारीको अवस्थाको संज्ञा दिइन्छ ।


प्रायः महिलाहरूमा महिनावारीको समयमा पेट दुख्ने, ढाड र कम्मर दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने जस्ता समस्याहरू देखापर्ने गर्छन् ।


तर कसैकसैलाई भने यस्ता समस्या नदेखिन पनि सक्छन् । यही सेरोफेरोमा रहेर स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकता जैसवालसँग क्यानडा नेपालले गरेको कुराकानीको सम्पादित अंशः 

 

महिनावारीको समयमा महिलालाई किन पीडा हुन्छ ?


महिनावारीको समयमा महिलाहरूमा कहिलेकाहीँ अत्यन्तै पीडा हुने गर्छ । जसलाई चिकित्सकीय भाषामा डिस्मेनोरिया भनिन्छ ।
डिस्मेनोरिया भनेको महिनावारीको समयमा हुने दुखाइ हो । यो २ प्रकारको हुन्छ, प्राइमरी डिस्मेनोरिया र सेकेन्डरी डिस्मेनोरिया । जसअन्तर्गत सेकेन्डरी डिस्मेनोरियामा किन पीडा भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ भने प्राइमरी डिस्मेनोरियाको कारण थाहा पाउन गाह्रो हुने गर्छ ।


महिनावारीको समयमा पाठेघर खुम्चिने गर्छ, जसबाट रगत निस्किन्छ । रगत निस्किने क्रममा महिलाको शरीरबाट प्रोस्टाग्ल्यान्डिन्स नामक तŒव निस्किने गर्छ । त्यसैका कारण पेट दुख्ने समस्या आउँछ । 

 

महिनावारी हुँदा औषधि सेवन गर्नु कत्तिको उपयुक्त हुन्छ ? औषधि सेवनबाहेक दुखाइ कम गर्ने केही उपाय छ ?


पछिल्लो समय महिलाहरू महिनावारीको समयमा पेट दुखाइ सहन नसकेर दुखाइ कम गर्न पेन किलरको सेवन गर्ने गर्छन् । तर चिकित्सकहरू भने सामान्यतया तातो पानी, झोलिलो पदार्थ, हट वाटर ब्यागको प्रयोग सुझाव दिन्छन् ।


साथै महिनावारीको समयमा शारीरिक व्यायामको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । यस्तो बेलामा सामान्य व्यायाम गर्दा पेटको दुखाइ कम गर्न मद्दत गर्छ । तर यी सबै कुराका बाबजुद पनि दुखाइ कम नभएको खण्डमा भने डाक्टरको सल्लाहबमाजिम पेन किलर,कन्ट्रासेप्टिक पिल्सको प्रयोग गर्नुपर्छ । 

 

महिनावारीलाई खानपिनले कत्तिको असर गर्छ ?

 

महिनावारीको समयमा स्वस्थ खानेकुराहरू खाने गर्नुपर्छ । यस्तै खानेकुरा मात्र खानुपर्छ भनेर खासै रोकटोक नभए पनि सफा स्वस्थ खानेकुरामा बढी जोड दिनुपर्छ । 

 

महिनावारीमा  सरसफाइको महत्त्व कति हुन्छ ?

 

महिनावारीको समयमा महत्त्वपूर्ण कुरा भनेको सरसफाइ हो । सरसफाइमा ध्यान नदिएर लापरबाही गरिएको खण्डमा विभिन्न रोग लाग्न सक्ने सम्भावना बढ्छ । 


यस्तो बेला समय–समयमा प्याड चेन्ज गर्ने गर्नुपर्छ । फोहोर कपडाको प्रयोग गर्नुहुँदैन ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार