दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सरकारको आग्रह
काठमाडौँ –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगन्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।
खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरिएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । २ डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ ।
मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगन्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । नेपालगन्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने १ जनाको मृत्यु भएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म ३ हजार बालबालिकालाई खोप लगाइएको छ ।
बाँकेलाई २ वर्ष अघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । तर, १३ पुसदेखि दादुराका बिरामी भेटिएका थिए ।
दादुरा सर्ने रोग हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ ।
सरकारले २ वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा २ पटक दादुरा रुवेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । दादुरा देखिएका ठाउँमा खोप नै नलिएका अरुमा पनि सर्ने जोखिम छ । अझ जनसङ्ख्या धेरै भएका नेपालगन्ज जस्ता अरु ठूला शहरमा जोखिम उच्च छ ।