१३ माघदेखि सुर्खेतमा राष्ट्रिय औद्योगिक महोत्सव
सुर्खेत –कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव सञ्चालन हुने भएको छ । १३ माघदेखि २१ माघसम्म वीरेन्द्रनगरमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव हुने भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुर्खेतको आयोजनामा हुने महोत्सवमा कोभिडको प्रभावले थला परेका लघु उद्यमीहरूलाई जोगाउने र कर्णालीको कला संस्कृतिको प्रर्वद्धन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा लघु घरेलु साना तथा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण, कर्णालीका औद्योगिक वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुगाउन पहल गर्ने, सरोकारवाला तथा उद्यमीहरूबीच उद्योग प्रर्वद्धनका लागि सहयोग आदान प्रदान गर्ने लक्ष्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णालीका अध्यक्ष चन्द्रबहादुर बुढाक्षेत्रीले बताए ।
उनका अनुसार आर्थिक समृद्धिका लागि ‘कर्णालीमा उद्योग खोलौँ, औद्योगिकरणमा जुटौँ’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा कर्णालीका उद्यमीहरूले उत्पादन गरेका मौलिक वस्तुहरू गलैंचा, राडिपाखी, उनका कपाडा, लिउ, फेरुवालगायतका वस्तुहरूको बजारीकरण गरिनेछ ।
महोत्सवमा करीब ३०० स्टल राखिनेछ । प्रत्यक्ष ४ करोड र अप्रत्क्ष ३ करोड गरी ७ करोड भन्दा बढीको कारोबार हुने विश्वास गरिएको आयोजकले जनाएको छ ।