कर्णाली सरकारले खेलाडीलाई पुरस्कृत गर्ने
काठमाडौं -कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड र अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्ने आफ्नो प्रदेशका खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने प्रस्ताव पारित गरेको छ ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको अन्तिम मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्ने २, नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने १८ र राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने १७ जना खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
२५ मंसिरमा कर्णाली प्रदेश खेलकुद परिषदले सामाजिक विकास मन्त्रालयहुँदै कर्णाली सरकारसँग खेलाडीलाई पुरस्कार दिन गरेको प्रस्ताव स्वीकृत भएकोमा सदस्यसचिव विश्वामित्र सन्ज्यालले खुसी व्यक्त गरे ।
कर्णालीका मुख्यमन्त्रीले आफ्नो कार्यकालमा भएका उपलब्धीमा खेलकुदतर्फ दशौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार तयारीलाई प्राथमिकता दिएको र पदक विजेता प्रदेशका खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको उल्लेख गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुदमा कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कांस्य पदक जितेको थियो । सुर्खेतका दीपक हमाल र जुम्लाका दुर्गाबहादुर बुढाले स्वर्ण जितेका थिए । उसुको नान छ्वान अलराउण्डर तथा एथलेटिक्सको ३ हजार मिटर स्टिपल चेसमा स्वर्ण जितेका दीपक र दुर्गाले जनही २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
उसुको छ्वान क्वानमा रजत जित्ने सुर्खेतकी आशा शाही, एथलेटिक्समा ५ हजार मिटरतर्फ रजत जितेका दुर्गाबहादुर बुढा, आईटीएफ तेक्वान्दोमा रजत जितेका मुगुका मिलन धामी, रुकुम पश्चिमका जनक बुढामगरले जनही १ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् ।
आईटीएफ तेक्वान्दोमै कांस्य जितेका रुकुम पश्चिमका कमला विक र महेन्द्र बुढाथोकी, उसुको सान्सोतर्फ सुर्खेतकी गोमा आफ्रे, तेक्वान्दोतर्फ सुर्खेतकी विकिका बस्नेत, पश्तिम रुकुमकी इला खत्री र सुर्खेतका जोन राउत, करातेतर्फ सुर्खेतका जोन रावत, करातेमै दोहोरो पदक विजेता (कुमुते र काता) एलिसा रास्कोटी मगर, बक्सिङमा सुर्खेतकी अस्मिता चन्द र कालीकोटका प्रकाश शाही, फुलकन्ट्याक्ट करातेमा हुम्लाकी प्रमिला बुमी र जुडोमा रुकुम पश्चिमकी हिरा आचार्यलाई कांस्य पदक जितेकोमा जनही १ लाख रुपैयाँका दरले पुरस्कृत गरिने भएको छ ।
यस्तै गत असार २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना भएको १२औं राष्ट्रपति रनिङ शिल्डमा पदक विजेतालाई पनि कर्णाली सरकारले नगदसहित सम्मान गर्दैछ । प्रतियोगितामा कर्णाली प्रदेशले ४ स्वर्ण, ७ रजत र ६ कांस्य पदम जितेको थियो ।
उसुको नान छ्वानतर्फ सुर्खेतका सुरेश चौधरी तथा एथलेटिक्सको ३ हजार मिटरमा सुर्खेतकै अजय विकले स्वर्ण जितेका थिए । कालीकोटकी भावना फर्सालले एटलेटिक्समा ४०० र ८०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनीहरुले जनही २० हजार पुरस्कार पाउनेछन् । दुई स्वर्ण जितेकी भावनाले ४० हजार पाउनेछिन् ।
एथलेटिक्सको ८०० मिटर दौडतर्फ कालीकोटका प्रकाश बुढा, हाइजम्पमा रुकुम पश्चिमकी मापसना रसाइली, १५०० मिटरमा कालीकोटकी हिमाली शाही, ३ हजार मिटरमा सुर्खेतकी विमला कार्की, १०० मिटरमा सुर्खेतकै सन्दीप देउजा, २०० मिटरमा सुर्खेतकै सुशील वली र तेक्वान्दोतर्फ सुर्खेतकै काजल विकले रजत जितेका थिए । उनीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
कांस्य विजेताहरु एथलेटिक्सको १५०० मिटर दौडमा सुर्खेतका अजय विक, करातेमा सुर्खेतका प्रियंका शाही, ममता नेपाली, ज्ञानेन्द्र सुनार र लक्ष्मणकुमार शाही तथा तेक्वान्दोमा सुर्खेतकै ललित बुढाले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
कर्णाली सरकारले महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी दीपा शाही र स्ट्रेन्थ लिफ्टिङमा अन्तर्राष्ट्रिय स्वर्ण विजेता खगीसरा घर्तीमगरलाई पनि नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । गत भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा आयोजित साफ महिला फुटबल प्रतियोगितामा दीपाले नेपाल टिमबाट डेब्यू गरेकी थिइन् । नेपाली टिम साफमा उपविजेता बनेको थियो । कर्णाली सरकारले हुम्लाकी दीपालाई ५० हजार नगद पुरस्कार दिने भएको छ ।
सन् २०२१ को नोभेम्बरमा भारतको सिक्किममा आयोजित सिक्कम–नेपाल स्ट्रेन्थलिफ्टिङमा ६५ केजी तौलसमूहमा स्वर्ण जितेकी सुर्खेतकी खगीसरालाई २ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने निर्णय भएको छ ।