Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको राजनीतिक यात्राः कृषक र शिक्षक हुँदै मुख्यमन्त्रीसम्म

बुधबार, पुस २७, २०७९

काठमाडौँ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । गिरीले ५८ सांसदको हस्ताक्षरसहित बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका थिए । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त आजै गरेका छन् ।


 
एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३–३ र स्वतन्त्र २ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन् ।  ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जना सांसदको समर्थन आवश्यक पर्छ । 

 

कृषि, पशुपालनसँगै राजनीतिमा आएका गिरी अघिल्लो कार्यकालमा करिब ३ वर्ष उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेर काम गरेका थिए ।  गुल्मीको रुरु गाउँपालिका– ५, बम्घा सौरिवोटमा २०११ चैत १४ मा जन्मिएका गिरी २०२२ सालमा गुल्मी जिल्लामा तत्कालीन विभेदयुक्त सामाजिक व्यवस्थाविरुद्धको आन्दोलनबाट प्रभावित भई कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।  मुख्यमन्त्री गिरीले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक सुरु गरेका थिए । 

 

बीएसम्मको अध्ययन गरेका उनले केही समय गुल्मी र रुपन्देहीमा शिक्षक भएर पनि काम गरेका थिए । शिक्षक पेशा संलग्न हुँदै २०३९ सालमा क्रान्तिकारी बुद्धिजीवी संघमा आबद्ध हुँदै राजनीतिक कमिटीका औपचारिक नेतृत्वमा सहभागी भएका थिए । २०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका गिरी जिल्ला पार्टीको उपसचिव, सचिव र अध्यक्ष तथा अञ्चल कमिटी हुँदै नवौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका छन् । 

 

उनी रुपन्देही जिल्ला कमिटीको इन्चार्ज, नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय सदस्य भएर नेतृत्व गरिसकेका छन् । यसैगरी, २०७४ मा प्रदेशसभा सदस्य, २०७४ चैत ५ देखि २०७८ बैशाख ६ गतेसम्म प्रदेश मन्त्री, २०७९ मा प्रदेशसभा सदस्यमा निर्वाचित, २०७९ पुसमा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता र २०७९ पुस २६ मा प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका हुन् ।

 

गिरी एमाले दसौं महाधिवेशनदेखि पोलिटव्युरो सदस्य चयन भएर काम पनि गरिरहेका छन् । २०३५÷३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा सक्रिय सहभागी हुँदा गिरीलाई तत्कालीन प्रशासनले वारेन्टको सूचीमा राखेको थियो । यस्तै, २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनमा उनले रुपन्देहीमा रहेर कमाण्ड सम्हाले । शाही ‘कु’ का विरुद्धको आन्दोलनमा लागेको भन्दै उनले तीन महिना जेल सजाय भोगे । 

 

सानै उमेरदेखि राजनीतिमा जोडिएका उनी राजनीतिसँगै कृषि पेशालाई निरन्तरता दिएका थिए । हाल पनि गिरीले कृषि पेशामा सलग्न भएर काम गरिरहेका छन् । लुम्बिनी प्रदेशको आर्थिक, कृषि र रोजगारीलाई उच्चतहमा पु¥याउने गिरीले मुख्यमन्त्रीमा नियुक्त भएपछि बताएका छन् । अब राजनीतिकसँगै आर्थिक विकास गर्नुपर्ने बताउँदै उनले लुम्बिनी प्रदेशको अर्थतन्त्रलाई सुधार्ने केही कुसुर नराख्ने पनि उदघोष गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्