Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यान इन्फाेटेककाे २८औँ संस्करण २४ माघदेखि

बिहीबार, पुस २८, २०७९

काठमाडौँ- बर्सेनि आयोजना हुँदै आएको क्यान इन्फोटेकको २८औँ संस्करण २४ देखि २९ माघसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । 

 

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले मेला आयाेजना गर्न लागिएकाे हाे । 

 

नेपालमा सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रूपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी को यो २८औँ संस्करण हो । यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधि को क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरूको अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ ।

 

क्यान इन्फोटेकको २८औँ संस्करणको मितिसँगै यसको शीर्ष प्रायोजन, सह–प्रायोजन, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला समेत गरिएको जनाइएको छ ।

 

सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ ।

 

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

 

यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने विश्वास गरिएको छ ।

 

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने बताइएकाे छ ।

 

क्यान इन्फोटेकमा देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसनका स्टल हुने छन् ।

 

साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन् ।

 

यसैगरी आइओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहने छन् ।

 

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

क्यान महासंघले क्यान इन्फोटेक २०२३ का लागि आवश्यक पर्ने स्टल तथा ह्यांगर निर्माण र विद्युत् आपूर्ति, सुरक्षा गार्ड, स्टेसनरी, छपाइलगायत प्रस्ताव आह्वान गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्