ह्यारीकी प्यारी २० माघमा प्रदर्शन हुने
काठमाडौँ–हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ २० माघमा प्रदर्शन हुने भएको छ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताए ।
‘अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्यपि हामी कथावस्तुमा ठिक छौँ’, नेपालले भने, ‘हास्यकलाकारको रूपमा स्थापित परिचयलाई बदल्दै कलाकार बन्न चाहन्छु, यसमा मैले आफ्नो कलाकारिता देखाउने अवसर पाएँ ।’ अभिनेत्री शाहले स्क्रिप्ट पढेपछि अभिनेता नेपालको नाम सुन्दा आश्चर्य लागेको बताइन् ।
फिल्म नेपालीसहित हिन्दी, बङ्गाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अन्य कलाकारमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ ।