Nic Ad Nic Ad
Nic Ad Nic Ad

माघे सङ्क्रान्तिमा तरुल र चाकुको व्यापार फस्टायो, मूल्य बढेन

बिहीबार, पुस २८, २०७९

काठमाडौँ–माघे सङ्क्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । 


कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे सङ्क्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड लागेको छ । तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन् । 


कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट तरुल आइरहेको छ । कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे सङ्क्रान्तिमा मात्रै पाउने सिजन भएकाले पनि सङ्क्रान्तिको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए ।


मानिसहरू कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने उनको भनाई छ । अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाबाट तरुल धेरै आइरहेको पोखरेलले बताए ।
त्यस्तै कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भए पनि यस पटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताइन् । माघे सङ्क्रान्तिका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको उनको भनाइ छ ।


गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको सिलवालको भनाइ छ । उनले यस वर्ष विगतको वर्षमा भन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुने बताइन् ।


पछिल्लो केही दिनयता तरुल बजारमा बाहिरबाट धेरै आइरहेकाले भाउ सस्तो पर्नसक्ने उनको अनुमान छ । 


‘२ गाडी तरुल ल्याएर राखेकी छु । नवलपरासीबाट ल्याएको छु । व्यापार पोहोरको जस्तै छ । बढी, घटी छैन ।  सामान यसपालि बढी आयो भने भाउ सस्तो हुन्छ जस्तो लागेको छ,’ सिलवालले भनिन् ।


माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढेको छ । चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरू बताउँछन् । माघे सङ्क्रान्तिको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरा लगायत खाएर पर्व मनाउने गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्