Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्याजदर घटेको सूचना पाउँदा किन ‘रातो मुख’ लगायो सेयर बजारले ?

बिहीबार, पुस २८, २०७९

काठमाडौँ– पुस २६ गते स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिले सेयर बजार र राजनीतिलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा एउटा रमाइलो स्ट्याटस लेखे– सत्तामा कांग्रेस छि¥यो, बजारमा सेयर गिर्यो ।


सिंजापतिले यो स्ट्याटस लेखेकै दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अपत्यासित रुपमा सरकारलाई विश्वासको मत दिने निर्णय सार्वजनिक गरेको थियो । 


यो पुस २६ गतेको घटना थियो । सो दिन बजारमा ठुलो उतारचढाव आएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार पुस २६ गते बजारमा ९९.४२ अंकको उतारचढाब देखियो । सो दिन बजार बढेर २२७७.६१ बिन्दुसम्म पनि पुग्यो भने कुनै समय घटेर २१७८.१९ बिन्दुमा पनि झर्यो । कारोबार बन्द हुँदा भने परिसूचक २१९०.४३ बिन्दुमा रह्यो, जुन अघिल्लो कारोबार दिनको तुलनामा २१.३४ विन्दुले घटेको थियो ।


पुुस २७ गते सार्वजनिक बिदा परेकोले बजार खुलेन । बजार नखुले पनि पुस २७ गते सेयर बजारले लामो समयदेखि प्रतिरक्षा गरिरहेको एकदमै खुसीको एउटा समाचार पायो । त्यो समाचार थियो– बैंकहरुले ब्याजदर घटाए ।


पुस २७ गते बसेको नेपाल बैंकर्स एसोसिएसनको बैठकले माघदेखि लागू हुने गरी मुद्दत निक्षेपको व्याजदर १० प्रतिशतले घटाउने निर्णय गर्यो । मुद्दति निक्षेपको व्याजसँगै बचतको व्याज पनि कम हुनेछ । त्यसको असर स्वरुप बैंकहरूको आधार दर कम हुनेछ र कर्जाको ब्याज पनि अब घट्नेछ ।


व्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ । अर्थात व्याजदर बढ्यो भने सेयर बजार घट्छ र व्याजदर घट्यो भने सेयर बजार बढ्छ । तर, व्याजदर १० प्रतिशतले घटेको समाचार सुनेपछि खुलेको पहिलो कारोबार दिन नै सेयर बजारले किन रातो मुख (बजार घट्दा रातो रंगले संकेत दिने गरिएकोले) लगायो त ?


स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मी पनि पूर्व अध्यक्ष सिजापतिको फेसबुक स्ट्याटसतिर संकेत गर्न खोज्छन् ।


‘नयाँ सरकारमा नेपाली कांग्रेस प्रतिपक्षमा बस्छ, अर्थमन्त्री विष्णु पौडेल नै कायम रहन्छन्, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच ट्युनिङ मिल्छ भन्ने लगानीकर्ताको विश्लेषण थियो, कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि गठबन्धनका साझेदार दल परिवर्तन हुने हुन कि, अर्थमन्त्री अर्कै व्यक्ति आउने हो कि, गभर्नर र अर्थमन्त्रीको फेरि ट्युनिङ नमिल्ने हो कि भन्ने जस्ता शंका लगानीकर्ताले गरेका हुन सक्छन्,’ पूर्व अध्यक्ष रेग्मीले क्यानडा नेपालसँग भने ।


निक्षेपको व्याजदर घटे पनि कर्जाको ब्याजदर घट्न अझै ३ महिना लाग्छ । अर्थात घटेको ब्याजदरको फाइदा ऋणीले बैशाख पछि मात्रै पाउने छन् । अहिलेको महगो ब्याजमा उद्यम व्यवसाय गर्न सम्भव देखिदैन् । त्यसैले यो ३ महिनाको बीचमा बैंकहरूले सेयर बजारलाई नै टार्गेट गरेर कर्जा प्रवाह गर्ने संकेत मिलेको छ । जसको संकेत अर्का एक ब्रोकरले गरे ।


‘नविल बैंकले अफिस अफिस गएर सेयर कर्जा लिन आग्रह गर्न थालेको छ,’ ती ब्रोकरले भने । बैंकहरूले सेयर धितो कर्जामा जोड गर्न थाल्नु भनेको अब बजार बढ्छ भन्ने संकेत मिल्नु पनि हो । बजार घट्न थालेको साढे १ वर्ष हुन लागेकाले पनि अब बजार बढ्छ भन्ने अनुमान धेरैले गर्न थालेका छन् ।


यस्तै, विश्व बैंकले बुधबार मात्रै एक प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ । नेपाली अर्थतन्त्र सङ्कटमा पर्न लागेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेलामा विश्व बैंक जस्तो संस्थाले यस्तो प्रतिवेदन सार्वजनिक गर्नु नेपालका लागि सुखद कुरा हो । 


तर पनि विगत २ कारोबार दिनमा बजार किन घटिरहेको छ ? केही लगानीकर्ताहरू भने बजारमा नाफा बुक गर्न सक्ने ठाउँ देखिएकोले बजार घटेको बताउँछन् ।


‘आजको बजारलाई घटेको अर्थमा लिनु हुँदैन, १८ सयको बिन्दुबाट बढेको बजार २२ सय बिन्दु कटेको थियो, त्यसैले नाफा बुक गर्न सक्ने ठाउँ देखिएको हो, यो घटाइले बजारलाई फाइदा नै गर्छ,’ ती लगानीकर्ताले भने ।


लगानीकर्ताहरूको भनाईलाई कारोबार रकमले पनि पुष्टि गर्छ । २६ पुसमा ७ अर्ब ५३ करोड रुपैया बराबरको सेयर कारोबार भएको थियो भने बिहीबार ५ अर्ब ४७ करोड रुपैया बराबरको सेयर कारोबार भएको छ । बिहीबार कारोबार बन्द हुँदा नेप्से परिसुचक २१४९.३९ बिन्दुमा छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्