Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्वाइस अफ साउथ समिटमा उपप्रधान तथा अर्थमन्त्री पौडेल

‘आर्थिक समस्या समाधानका लागि सामुहिक पहल जरुरी’
बिहीबार, पुस २८, २०७९

काठमाडौँ –उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् ।


भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरूको शत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड –१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको संकेत देखिएको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताएका हुन् ।


‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ, हामी सम्वृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौं,’ उनले भने ।


आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक ५ खर्ब ८५ अर्ब रुपैयावित्तीय अभाव भएको उनको भनाइ छ । 


‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ । यो कोभिड –१९ महामारी पूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ, वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रुपमा वित्तीय स्रोतका विभिन्न स्वरुपको समिश्रण गर्नुपर्दछ,’ उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने ।


नेपालले द्विपक्षीय र बहुपक्षीय  विकास साझेदारहरूसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताउँदै उनले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद पनि दिए ।


नेपालमा वित्तीय सेवाहरूमा पहुँच फराकिलो बनाउने काम गरिराखेका जानकारी गराउँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्युतीय वित्तीय सेवाहरूको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रम लागू गरेको जानकारी पनि उनले दिए । 
नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको भन्दै उनले वित्तीय समावेशिकरण तथा डिजिटलाईजेशनमा भारतले ठूलो सफलता हासिल गरेको  र भारतको सफलताको कथाबाट सिक्न र नेपालको सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको धारणा उनले व्यक्त गरे । 
समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बिया लगायत १५ देशका अर्थमन्त्रीहरूको सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार