Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध कुखुराको चल्ला र अण्डा रोक्न गृहमन्त्रीको निर्देशन

बिहीबार, पुस २८, २०७९

चितवन– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिएका छन् । 

 

पोल्ट्री व्यावसायीहरूले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिएका हुन् ।

 

व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा सङ्कट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै मन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिएका हुन् ।

 

उनले आजै उद्योग सङ्घ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका वर्तमान र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयक छलफल कार्यक्रममा समस्याको निकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । सो अवसरमा मन्त्री लामिछानेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरूको समस्याको विषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्न आग्रह गरे ।

 

आफू यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उनले बताए । सो अवसरमा उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कडेंल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरूले अहिले झेल्नुपरेको समस्याका बारेमा अवगत गराराएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार