एक्कासि बढे ज्वरोका बिरामी : सिजनल फ्लू हो कि कोरोना ?
काठमाडौँ– पछिल्लो समय उपत्यकालगायत देशभर चिसो बढेको छ । चिसो बढेसँगै विभिन्न प्रकारका सिजनल फ्लूहरू देखापर्ने थालेका छन् ।
यस्तो समयमा चिसोबाट जोगिन सकिएन भने स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने चिकित्सकहरू बताउँछन् ।
पछिल्लो समय अधिकांशमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता समस्या देखापरेका छन् । कोरोनाको नयाँ भेरियन्ट आएको हल्लाका बीच यस्ता समस्या देखिएपछि जनमानसमा एकप्रकारको त्रास फैलिएको छ ।
मौसम परिवर्तन भएसँगै चिसोमा स्वास्थ्य समस्याहरू देखापर्नु सामान्य भए पनि हेलचेक्र्याइँ गर्दा समस्या हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले बताए । उनका अनुसार अधिकांश मानिसमा यस्ता लक्षण देखिएको आफूले सुनेको भए पनि अस्पतालमा सामान्य ज्वरोका बिरामी भने कमै मात्रमा आउने गरेका छन् ।
प्रायः मानिस घरमै उपचारका क्रममा रहेको हुन सक्ने उनको भनाइ छ । तर घरायसी उपचार र स्वास्थ्य जाँच नगराई औषधि सेवन गर्दा नराम्रो असर पर्न सक्ने पुनले बताए ।
स्वास्थ्य परीक्षण नगरी कोरोना संक्रमण हो कि सिजनल फ्लू हो भनेर छुट्ट्याउन नसकिने भएकाले अहिलेको लक्षण केको हो भन्न नसकिने उनले बताए ।
उनका अनुसार यस्तो समयमा मौसमी रुघाखोकीसँगै ज्वरो आउने गर्छ, यो स्वाभाविक नै हो । तर सामान्य ज्वरो त हो, ठिक भइहाल्छ भनेर बेवास्ता गर्दा घातक बन्न सक्ने भएकाले स्वास्थ्य परीक्षण गराई औष्धि उपचार गर्न उनको सुझाव छ ।
सिजनल फ्लूबाट बच्न रुघाखोकी लागेका व्यक्तिसँग धेरै सम्पर्कमा नरहन उनको सुझाव छ । हिँड्दा मास्क लगाएर हिँड्ने र रुघाखोकीबाट हुने सङ्क्रमणबाट बच्न वर्षमा एकपटक खोप लगाउनुपर्ने उनको बताउँछन् ।
यस्तै सफा खानेकुरा खाने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ । सफा र सकेसम्म उमालेको पानी पिउनु उचित हुने डाक्टर पुन बताउँछन् । चिसोबाट जोगाउन झोलिलो खानेकुराहरूसँगै विभिन्न प्रकारका गेडागुडीको दाल अथवा जाउलो बनाएर खाने गर्नुपर्छ ।