नेपाल पुलिस क्लब एनभीए राष्ट्रिय महिला भलिबलको फाइनलमा
काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा हराएर पुलिस उपाधि नजिक पुगेको हो ।
रोमान्चक खेलको पहिलो सेट पुलिसले २५–१५ ले जितेको थियो । दोस्रो सेट र तेस्रो सेट एपीएफले २५–१७ र २५–२१ ले जितेको थियो । चौथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा पुलिसले १५–७ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
पुलिसले उपाधिका लागि आइतबार आर्मी र न्यू डायमण्डबीचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।