Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने तीन पाकिस्तानी नागरिक पक्राउ

शनिबार, पुस ३०, २०७९

काठमाडौं– अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जना पाकिस्तानी नागरिक पक्राउ गरेको छ ।

 

बिहीबार  पाकिस्तानी नागरिकहरु बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैनलाई प्रहरीले पक्राउ गरेको हो । 

 

वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमै पूरा गर्नुपर्छ भनि एकजना पाकिस्तानी नागरिकलाई भिजिट भिसामा नेपाल ल्याई बुढानिलकण्ठस्थित घरमा बन्धक बनाई २५ लाख ६६ हजार ६ सय ९७ नेपाली रूपैयाँ फिरौती रकम लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंसँगको समन्वयमा बुढानिलकण्ठ नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

 

पाकिस्तानमा रहेका पीडितका भाइलाई मेरो क्यानडाको लागि फलाईट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर ३० घण्टापछि पुनः क्यानडा पुगेँ, ईमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाएपश्चात पीडितको भाइले उक्त नेपाली रूपैयाँ बुझाएपश्चात पीडितलाई मंगलबार राति सिनामंगलस्थित सडकमा पाकिस्तान फर्किनु भनी छाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

 

उनीहरूलाई अपहरण गर्न हुने/नहुने र शरीर बन्धक लिन हुने/नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्