मकर संक्रान्ति : धार्मिक मात्रै नभएर वैज्ञानिक आधारमा पनि उत्तिकै महत्त्वपूर्ण
काठमाडौँ – वैदिक कालदेखि नै मकर संक्रान्ति विशेष पर्वका रूपमा मनाउने शास्त्रीय नियम छ । कार्तिक स्नान र मकर स्नानका बारेमा शास्त्र तथा पुराणहरूमा विशेष रूपमा व्याख्या गरिएको छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति भनेर भनिएको हो । यस दिन गरिएको स्नान दान तथा तर्पणको विशेष महत्त्व रहने शास्त्रमा उल्लेख गरिएको छ । कार्तिक स्नान र माघ स्नानको विशेष महत्त्व रहेको शास्त्रमा व्याख्या गरिएको छ ।
नेपालमा रहेका हरेक जात जातिका समुदायहरूले फरक-फरक रूपमा यस पर्वलाई मनाउने परम्परा छ । विशेष गरी थारू समुदायमा यसलाई प्रमुख उत्सवका रूपमा मनाउने परम्परा सदियौँदेखि रहिआएको छ । पुराणमा वर्णन गरिए अनुसार सूर्य देव आफ्ना छोरा शनिसँग भेट हुने विशेष दिनका रूपमा पनि व्याख्या गरिएको छ तेसैले पनि यस पर्वलाई पिता र पुत्रको मिलनका रूपमा पनि लिने गरिएको छ ।
दक्षिणायन र उत्तरायण गरी वर्षलाई २ भागमा विभाजन गरिएको छ । श्रावण संक्रान्तिदेखि सूर्यनारायण दक्षिणायन हुन्छन् भने मकर संक्रान्तिका दिनदेखि सूर्य उत्तरायण हुने हुँदा सूर्य उत्तरायण र दक्षिणायन हुँदा यसको प्रभाव प्रकृतिदेखि समस्त प्राणीहरूमा प्रत्यक्ष रूपमा पर्ने गर्छ । सूर्य मकर राशिमा प्रवेश भएदेखि दिन लामो र रात छोटो हुँदै जाने गर्छ ।
शास्त्रमा उल्लेख भएअनुसार मकर संक्रान्तिका दिन गंगा धर्तीमा अवतरण भएको दिनका रूपमा पनि व्याख्या गरिएको छ । त्यस कारण मकर संक्रान्तिका दिन गंगाहरूमा मात्रै नभएर अन्य स–साना नदी तथा तलाउहरूमा स्नानका लागि भक्तजनहरूको उल्लेख्य रूपमा उपस्थिति हुने गर्छ । यस दिन गरिएको स्नान दान तथा तर्पणको विशेष महत्त्व रहने शास्त्रमा उल्लेख गरिएको छ ।
हाम्रो देश नेपाल संस्कृति,परम्परा र उत्सवको धर्ती हो र उत्सव तथा परम्परागत रूपमा मनाइने जति पनि हाम्रा चाडपर्व छन् तिनीहरूको धार्मिक महत्त्व मात्रै नभएर वैज्ञानिक आधारहरू पनि उत्तिकै छन् ।
पृथ्वी उत्तर दिशामा २३ दशमलव ४३ डिग्रीमा झुकेको छ । पृथ्वीलाई ३ काल्पनिक रेखामा विभाजन गरी नामांकित गरिएको छ जसलाई कर्क रेखा, भूमध्य रेखा र मकर रेखामा विभाजन गरिएको छ ।
झुकेको पृथ्वी ३६५ दिन ५ घन्टा ४८ मिनेट ४६ सेकेन्डमा २९ दशमलव ७८ किलोमिटर प्रतिसेकेन्डको गतिमा सूर्यको परिक्रमा गरिरहेको छ ।
उत्तर दिशामा पृथ्वी झुकेको कारणले वर्षमा ४ विशेष परिस्थिति सिर्जना हुने गर्छ । पहिलो दिन र रात बराबर हुने गर्छ दोस्रो दिन सबैभन्दा लामो र रात छोटो हुने गर्छ तेस्रोमा दिन र रात बराबर हुने गर्छ चौथोमा रात सबैभन्दा लामो हुन्छ भने दिन सबैभन्दा छोटो हुने गर्छ जुन नियमित गतिमा घुमिरहेको छ ।
सूर्य मकर राशिमा नआउँदासम्म सूर्य दक्षिणायनमा रहने छन् जब सूर्य मकर राशिमा प्रवेश गर्छन् उक्त समयदेखि सूर्य उर्धरेखातर्फ सर्दछन् । सूर्य ऋतुहरूको कारण हो जुन पृथ्वीको झुकावका कारणले गर्दा ऋतुहरूमा परिवर्तन हुने गर्छन् जसको मुख्य कारण सूर्य नै हो ।
कार्तिकमा शिशिर ऋतु प्रारम्भ तथा माघ महिनामा शिशिर ऋतुको अन्त्य हुने दिन हो । मानिसहरूको स्वस्थ विशेष गरी ऋतु परिवर्तन हुने अवस्थामा बिग्रने भएकाले कार्तिक स्नानबाट चिसो प्रारम्भ हुन्छ भने माघ स्नानदेखि गर्मी प्रारम्भ हुने भएकाले पनि मकर संक्रान्तिको स्नानलाई विशेष महत्त्वका साथ वर्णन गरिएको धार्मिक विद्वानहरूले जानकारी गराएका छन् ।
आजका दिन शरीरमा गर्मी पैदा गर्ने तिल, सख्खर, चाकुलगायत वस्तुहरूको सेवनले शरीर निरोगी बन्ने आयुर्वेदिक ग्रन्थमा उल्लेख गरिएको । यसरी हाम्रा परम्पराले आध्यात्मिक तथा वैज्ञानिक दुवैको प्रतिनिधित्व गरिरहेको छ ।
धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । अतः प्रकृतिको नियममा रहन सके जीवनका कुनै प्रकारका समस्या सहजै रूपमा समाधान गर्न सकिन्छ ।
लेखक : ज्योतिष तथा वास्तुविद् हुन् ।