यतीकाे जहाज दुर्घटना : ३२ जनाको शव निकालियो
काठमाडौँ– पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका ३२ जनाको शव निकालिएको छ ।
काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका ४ सदस्यसहित पोखराका लागि उडेको यती एयरलाइन्सको–एनएएनसी एटिआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
उद्धार कार्यमा खटिएका सुरक्षा अधिकारीका अनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विष्णुप्रसाद अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन् । एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु रहेको यति एयरलाइन्सले बताएको छ ।
९ एन एएनसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
यी जहाज ७० देखि ७२ सिट क्षमताका हुन् । यसअघि नेकोन एयरले पनि एटिआर जहाज चलाएको थियो । तर पछिल्लो समय नेपालमा बुद्ध र यती एयरलाइन्ससँग मात्र एटिआर–७२ जहाज छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले एटिआर–७२ जहाजको याे पहिलो दुर्घटना भएको बताए ।
धेरै यात्रु बोक्ने भएकाले यो जहाजलाई बढी सुरक्षित मानिन्छ । तर, आइतबार भएको दुर्घटनाको कारण नखुलेको उनले बताए ।