अवतरण अनुमति लिएपछि भएकाे थियाे जहाज दुर्घटना
काठमाडौँ–पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आइतबार बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।
‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले भने, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।’
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।
प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १२:५५
प्रतिक्रिया दिनुहोस्