विमान खोंचमा खस्दा उद्धारमा कठिनाइ
पोखरा–पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा खस्दा उद्धारमा कठिनाइ भएको छ । काठमाडौँबाट पोखरा आइरहेको यती एयरलाईन्सको एटिआर–७२ जहाज पोखराको पुरानो विमानस्थलको पूर्वपट्टीको भागमा रहेको सेती खोंचमा खसेको हो ।
जहाज पुरानो विमानस्थल र सीताराम केसी ग्रुपले निर्माण गरेको हाउजिङको बीचमा रहेको सेती खोंचमा खसेको अवस्थामा भेटिएको हो । विमान खोंचमा खसेकाले उद्धारमा कठिनाई भएको उद्धारकर्मीहरूले बताएका छन् । त्यस्तै, दुर्घटनास्थल खोंचमा भएकाले दमकल पुग्न नसक्दा आगो नियन्त्रणमा ल्याउन पनि कठिनाई भएको प्रहरीले बताएको छ ।
विहान १० बजेर ५८ मिनेटमा दुर्घटना भएपनि अहिलेसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।
कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले भौगोलिक कठिनाईका कारण उद्धारमा समस्या भएको जानकारी बताए ।
पोखराको मध्यभागमै जहाज दुर्घटनामा परेपछि दुर्घटना स्थल वरपर भीड जम्मा भएको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना विदेशी नागरिक थिए ।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।
प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।