Nic Ad Nic Ad
Nic Ad Nic Ad

छानबिन समिति बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन

आइतबार, माघ १, २०७९

काठमाडौँ –सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ ।  मानवीय क्षतिको हिसाबले आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौँबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । 


हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो । तुलनात्मक रूपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।


उनले नेपालमा साना विमान बढी मात्रामा दुर्घटनामा पर्ने गरेका थिए । एटिआर नै दुर्घटनामा परेको पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु सङ्ख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । आचार्यका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ । 


हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरूको भनाइ छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्छ । तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । आन्तरिक उडानतर्फ आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटना पनि आफैमा ठूलो हो ।  


सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।


आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।


कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।


अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकतासमेत महसुस भएको छ ।


यति एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार यतीको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उनले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । ‘यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ’, मानन्धरले भने । नेपाली आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव उनको छ ।


नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए । यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका २ विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।


यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा भयो र १५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पर्दा ५ जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ ।


हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म ६ दर्जन विमान दुर्घटनामा परेका छन । 


नेपालमा पहिलो हवाई दुर्घटना ६ अक्टोबर १९७३ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दुर्घटना हो । यति एयरलाइन्सको हकमा भने यो चौँथो दुर्घटना हो ।

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्