नेभिगेशन
विश्व

कोरोनाको जटिल अवस्थाबाट पार पाएको चीनको भनाइ

बेइजिङ– कोरोना महामारीको जटिल अवस्थाबाट देशले पार पाएको जनाउँदै चीनले एक महिनामा ६० हजारले ज्यान गुमाएका बताएको छ ।

 

यद्यपि सरकारले सार्वजनिक गरेको ज्यान गुमाएकाको यो विवरण अनुमान गरिए भन्दा कम भएको बताइएको छ ।

 

अघिल्लो महिनाको प्रारम्भदेखि नै अस्पतालहरू बिरामीले भरिभराउ भएका थिए भने शवदाह गृह तथा अन्त्येष्टिस्थलमा पनि ठूलो भीड लागेको थियो । अकल्पनीयरुपमा कोरोनाका बिरामी बढेकाले ६० हजारभन्दा बढीको मृत्यु भएको ठानिएको छ ।

 

राष्ट्रिय स्वास्थ्य आयोगले कोभिडका कारण श्वासप्रश्वासमा जटिलता थपिएपछि पाँच हजार पाँच सय तीन जनाको मृत्यु भएको तथा ५४ हजार चार सय ३५ जनाले कोरोनासहित अन्य रोगका कारण मृत्यु वरण गरेका जनाएको छ । अस्पतालमा भएका मृत्युको विवरण आयोगले प्रस्तुत गरेकाले घरमै ज्यान गुमाएकासमेतलाई समेट्दा ६० हजारभन्दा बढी महामारीको चपेटामा परेका अनुमान गरिएको छ ।

 

अघिल्लो महिनाको जस्तो अवस्था अहिले नभएकाले कोरोनाको गम्भीर अवस्थाबाट देशले पार पाएको आयोगले जनाएको छ । एकै दिन २९ लाख बिरामी उपचारमा गएकामा अर्को दिन त्यो सङ्ख्या चार लाख ७७ हजारमा झरेको थियो ।

 

यसैबीच, विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ सम्बन्धी वास्तविक सूचना उपलव्ध गराउन चीनसँग आग्रह गरेको छ ।

 

एकै महिनामा ६० हजारले ज्यान गुमाएका विवरण सार्वजनिक भएका बेला राष्ट्रसङ्घीय संस्थाले तथ्यपरक सूचना उपलव्ध गराउन बेइजिङसँग अनुरोध गरेको हो ।

 

चीनले विश्व स्वास्थ्य सङ्गठनलाई पाँच हजार पाँच सय तीन जनाको कोभिडका कारण श्वासप्रश्वासमा जटिलता थपिएपछि मृत्यु भएको तथा ५४ हजार चार सय ३५ जनाले क्यान्सर, मुटुरोगलगायत अन्य रोगका कारण ज्यान गुमाएका जानकारी दिएको थियो । –रासस /एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन