विमान दुर्घटना अपडेटः पहिचान भएका शव भोलि परिवारलाई बुझाइने
पोखरा– यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सबै शव संकलन गरी सोमबार (भोलि) आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुर्घटनामा ६९ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । मृत्यु हुनेमध्ये १३ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित १२ जनाको सनाखत भएको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारीअनुसार पहिचान भएका शव सोमबार (भोलि) आफन्तलाई जिम्मा लगाइने भएको हो । शाहीका अनुसार सबै शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ। पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।
विमानमा सवारमध्ये ६९ जनाको शव प्राप्त भइसके पनि जहाजमा रहेका तीन जना अझै बेपत्ता छन् । बाँकी तीनजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए । ‘खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ’, प्रमुख केसीले भने ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।
सनाखत हुनेहरू
१) निशान्त आचार्य
२) संगीता शाही
३) डा. सुशील श्रेष्ठ
४) डा. सेना दिवाकर
५) १० महिनाका रिहान पौडेल
६) अदाकत अलिमिया,
७) लक्ष्मी पौडेल
८) त्रिभुवन पौडेल
९) अरुण पौडेल
१०) प्रसिद्धी पौडेल
११) पूर्णकुमार गुरुङ
१२) रचना काफ्ले
१३) कोरियन नागरिक यू क्यानगुल