Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतले युक्रेनलाई दर्जनभन्दा बढी ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने

आइतबार, माघ १, २०७९

लण्डन– बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने भएको छ । 

 

बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाइसकेको छ ।

 

बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शनिबार टेलिफोन गरी लण्डनले युक्रेनमा थप १२ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाउने बताएका हुन् । ‘युक्रेनमा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाउनु भनेको बेलायतको सहयोगमा वृद्धिको सुरुवात हो,’ प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपतिसँग टेलिफोनमार्फत् भन्नुभएको जेलेन्स्कीको सचिवालयले बताएको छ । 

 

आगामी हप्तासम्ममा स्थल सेनाले प्रयोग गर्ने १४ वटा ट्याङ्क युक्रेन पुग्नेछन् । बेलायतले करिब ३० वटा ठूला र स्वचालित बन्दूक ९एएस–९००पनि सहयोग गरेको छ । उक्त एक बन्दूकले सामान्य एक बन्दूक चलाउने करिब पाँच जनालाई प्रतिरक्षात्मक आक्रमण गर्न सक्ने बेलायत सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कीभलाई बेलायतले गरेको सहयोगबारे थप विवरण सोमबार सार्वजनिक गरिने बताइएको छ ।

 

गत डिसेम्बरमा रूसी सशस्त्र बलका जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले बताए अनुसार सन् २०२२ को फेब्रुअरीमा द्वन्द्व सुरु भएयता पश्चिमी मुलुकहरूले युक्रेनलाई ३५० भन्दा बढी ट्याङ्क, ७०० ठूला हतियार र १०० भन्दा बढी धेरै रकेट हान्नसक्ने क्षेप्यास्त्र उपलब्ध गराएको उनले बताएका थिए । गेरासिमोभका अनुसार युक्रेनलाई कुल १०० अर्ब अमेरिकी डलर बराबरको वैदेशिक आर्थिक सहयोग प्राप्त भएको छ । 

 

मस्कोले कीभलाई सैन्य सहायताको निरन्तर विरोध गर्दै आएको छ । –रासस एएनआई

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्