मेनपावर व्यवसायीलाई भोट माग्दै पार्टीका शीर्ष नेता
काठमाडौँ– आगामी शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावी अधिवेशन हुँदै छ ।
निर्वाचनका लागि ५ दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ । अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने अन्य पदमा त्यसभन्दा बढीको उम्मेदवारी परेको छ ।
रोजगारी व्यवसायीको अधिवेशनमा आफ्ना पार्टीनिकट व्यवसायीलाई जिताउन ठुला राजनीतिक दलका शीर्ष नेताहरू लागिपरेका छन् ।
गत साता रोजगारी व्यवसायीले आयोजना गरेको कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गर्दै आफूनिकट दलका व्यवसायीलाई भोट मागे ।
कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल, संघका पूर्व द्वितीय अध्यक्ष भुवनसिं गुरुङ, एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी र माओवादी केन्द्रनिटक वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले उम्मेदवारी दिएका छन् ।
एसोसिएसनबाट अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । गुरुङ र खनाल दुवैले प्यानलै बनाएर निर्वाचनमा उत्रिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका मुख्य सचेतक रमेश लेखकले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कुमुद खनालको प्यानललाई मतदान गर्न कांग्रेसनिकट व्यवसायीलाई आग्रह गरेका थिए । लेखक, संघको निर्वाचनका लागि पार्टी प्रतिनिधि हुन् ।
नेता लेखकले आफूले उम्मेदवारको कुनै पनि आकांक्षीको पक्ष नलिएको र कसैलाई उम्मेदवार बन्न वा छाड्न दबाब नदिएको बताउँदै कांग्रेस वैदेशिक रोजगार क्षेत्रलाई मयार्दित र सुरक्षा बनाउने पक्षमा रहेको भनाइ राखेका थिए ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सको महत्वका विषयमा पूर्ण रूपमा जानकार रहेको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले वैदेशिक रोजगार व्यवसायीले सामना गरिरहेका समस्या समाधानका लागि तत्पर रहेको बताएका थिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अक्स्फोर्ड इन्टरनेसनल प्रालिका सञ्चालक डा. ईश्वर जिसीको प्यानलका उमेदवारहरूको परिचयात्मक कार्यक्रममा प्रमुख अतिथि रहेका निवर्तमान अर्थमन्त्री शर्माले अर्थमन्त्रीको हैसियतमा काम गर्दा वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या र त्यसको समाधानका सूत्रहरूका बारेमा गहिरो अध्ययन हुनुपर्ने बताएको जनाएका थिए ।
उनले आइतबार भएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण देशको अर्थतन्त्र संकटबाट बच्दै आएको भनाइ राखेका थिए ।
उनले जिसी परिवर्तनको पक्षमा काम गर्ने रोजगार व्यवसायी भएका कारण उनलाई अधिवेशनमा मत दिएर जिताउन आग्रह गरेका छन् ।
यसैगरी, नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दलहरू निकट व्यवसायीहरूबीच एकता गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रतिस्पर्धा गर्न सुझाव दिएका थिए ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालद्वारा शनिबार सामाखुसीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले परिवर्तन चाहने र विकास गर्छु भनेर हुटहुटी पाल्ने राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा रोजेको मन्त्रालय दिन तयार रहेको प्रसंग उल्लेख गर्दै संघको निर्वाचनमा पनि सोही अनुसार तालमेल हुन आवश्यक रहेको धारणा राखे ।
महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार बनेपछिको पहिलो चुनाव भएकाले पनि संघको निर्वाचनको नतिजाको विशेष महत्व हुने भएकाले दुवै पार्टीका व्यवसायीलाई मिलेर निर्वाचन लड्न सुझाव दिए ।
एक जना निर्वाचित हुने प्रथम उपाध्यक्षमा ४ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना र १० सदस्यका लागि ३१ जना गरी कुल ६३ व्यवसायीको उम्मेदवारी परेको संघले जनाएको छ ।
संघको निर्वाचन हरेक ४ वर्षमा हुने गरेको छ । पछिल्लो समयमा संघको निर्वाचनमा राजनीतिक हस्तक्षेपसमेत बढ्दो छ । पार्टीका शीर्ष नेताले चाहेका व्यवसायीहरूले संघको पदाधिकारीमा उम्मेदवारी दिनुपर्ने अवस्था र बाध्यता छ ।