शव पोष्टमार्टम गर्न ‘राष्ट्रिय टिम’ बनाइयो
काठमाडौँ–यति एयरलायन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सकहरू समेटिएको राष्ट्रिय टिम बनाइएको छ ।
राष्ट्रिय टिममा पोखरा र काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकहरू रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५ र त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका २ जना चिकित्सकहरूको राष्ट्रिय टिम बनाइएको प्रतिष्ठानका निर्देशक डा. निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिए ।
‘हामीले निधन भएकाका आफन्तहरूले चाँडै शव पाउन् र शवको पहिचान पनि छिटो होस् भनेर काठमाडौं र पोखराको चिकित्सकहरूको टिम बनाएका हौँ, अब समन्वय भएर काम सुरु हुन्छ’ डा खत्रीले भने ।
हाल दुर्घटनास्थलमा भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । पहिचान भएकाहरूको पोष्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गरिने समेत डा खत्रीले बताए ।
प्रतिष्ठानको शवगृहको १६ वटासम्म शव अटाउने क्षमता भए पनि ६७ जनाको शव अहिले राखिएको छ । अस्थायी कोल्डरुम स्थापना गरेर शवहरूको व्यवस्थापन गरिएको छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्घटनामा मृत्यु भएकाहरूको शवको फोरेन्सिक जाँच र पहिचानमा सम्भावित कठिनाइ तथा बाधा आउन सक्ने भन्दै व्यवस्थापनको लागि उपत्यकाका अस्पताललाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै अस्पतालहरूलाई अलर्टमा रहन निर्देशन दिएका हुन् ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा १ जना प्रतिनिधि दुर्घटनास्थलमा आवश्यक समन्वयका लागि खटाइनुका साथै उपचार तथा शव व्यवस्थापनका लागि हब तथा सेटेलाइट अस्पतालहरूसँग समन्वय गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन हुँदै आएको र थप समन्वय र सहयोगका लागि पोखरास्थित अन्य मेडिकल कलेज र काठमाडौँको त्रिवि शिक्षण अस्पतालसँग समन्वय गरिएको समेत मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा रहनसमेत मन्त्रालयले निर्देशन दिएको छ ।