Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध क्रसर उद्योगको दबाबमा नागढुंगा सुरुङसहित अधिकांश सडक आयोजना बन्द

उपत्यकाभित्रका सबैजसो सडक निर्माण अवरुद्ध
सोमबार, माघ २, २०७९

काठमाडौँ– गृहमन्त्री रवि लामिछानेको अवैधानिक क्रसर उद्योग बन्द गराउने निर्णयले अधिकांश विकास आयोजनाको काम प्रभावित भएका छन् । सञ्चालित क्रसर उद्योग बन्द हुँदा सडक निर्माणका लागि चाहिने ढुंगा, गिट्टी, बालुवाजन्य वस्तुको आपूर्ति नहुँदा सडकदेखि सुरुङमार्गसम्मको काम बन्द हुन पुगेको हो ।

 

क्रसर उद्योग बन्द हुँदाको ज्वलतन्त्र उदाहरण बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग परियोजना हो । क्रसर उद्योग बन्द हुँदा उक्त परियोजनाको मुख्य सुरुङ खन्ने काम सोमबार(आज) देखि पूर्ण रुपमा बन्द भएको छ ।

 

क्रसर उद्योग बन्द हुँदा सोमबारदेखि नागढुंगा सुरुङमार्गको मुख्य टनेल खन्ने काम सोमबारदेखि पूर्ण रुपमा रोकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

 

‘क्रसर उद्योग बन्दले सडकका अन्य परियोजनामा पनि असर पर्ने हो कि भन्ने डर लागिरहेको छ । आज (सोमबार) देखि नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य टनेल खन्ने काम त बन्द भइहाल्यो,’ परियोजनाले खरिद गर्दै आएको क्रसर उद्योग बन्द भएका कारण काम रोकिएको हो,’ महानिर्देशक थापाले क्यानडा नेपालसँग भने । 

 

अबैध क्रसर उद्योगले बैधानिक क्रसर उद्योगलाई धम्की दिएर बन्द गर्न वाध्य पारेपछि सो क्रसरबाट बालुवा लगायत निर्माण सामग्री ढुवानी रोकिएको हो । सोही कारण सुरुङमार्ग निर्माण रोकिएको छ । 

 

नागढुंगा सुरुङमार्गमा ढुंगा विस्फोट गरेर गिट्टी बनाउने काम हुँदै आएको छ । तर, बालुवा भने क्रसर उद्योगबाट नै किन्दै आएको थियो । 

 

‘टनेलको ढुंगा विस्फोट गरेर आउँछ, आफैंले गिट्टी बनाइरहेको थियो । गिट्टीको समस्या होइन,  उसलाई बालुवाको समस्या भयो । बालुवा ढुवानी बैध क्रसर उद्योगबाट किनिरहेको थियो । सिडीओले पनि बालुवा ल्याउन ‘पास’ र सुरक्षा दिँदै आएकोमा अन्य प्रतिष्पर्धी क्रसर उद्योगवालाले थर्काएपछि उक्त क्रसर उद्योगले पनि ढुवानी बन्द गर्यो,’ उनले भने ।

 

अहिले सुरुङ निर्माणको मुख्य काम नै ठप्प हुन पुगेको उनको भनाई छ । ‘सुरुङमार्गबाट ढुंगा, गिट्टी निकाल्ने काम चलिरहे पनि सुरुङमार्गमा ‘सब–कंक्रिट’ गर्ने काम बन्द भएको हो । जुन, सुरुङ निर्माणको मुख्य काम पूर्ण बन्द भयो,’ महानिर्देशक थापाले भने ।

 

क्रसर उद्योग बन्द हुँदा यता सडक निर्माण र विस्तारका काम पनि प्रभावित हुन पुगेको थापाले जानकारी दिए । उनका अनुसार, अहिले नागढुंगा देखि मुग्लिन सम्मको सडक स्तरोन्नती र पिँचको काम पनि प्रभावित हुने देखिएको छ ।

 

तीन प्याकेजमा सडक विस्तारको काम अघि बढे पनि नागढुंगा देखि नौबिसे र नौबिसेदेखि मलेखु खण्डको काम पनि बन्द भएको छ । त्यस्तै, बालाजु–त्रिशुली सडक विस्तार आयोजनाको काम पनि बन्द भएको उनले बताए ।

 

‘उपत्यकाभित्रका सबैजसो सडक परियोजना बन्द भइसके, त्यो बाहेक उपत्यका बाहिरका सडक आयोजना पनि प्रत्यक्ष रुपमा काम अघि बढ्न नसक्ने देखिएको छ,’ थापाले भने ।

 

यस्तै, नारायणगढ–बुटवल सडक विस्तारको काम पनि रोकिने अवस्थामा पुगेको छ । त्यस सडक आयोजनाले आपूर्ति गरेको क्रसर उद्योग पनि बन्द हुँदा आवश्यक पर्ने ढुंगा, गिट्टी र बालुवा ढुवानी रोकिएको छ । सोही कारण उक्त परियोजना विस्तारको काम रोकिन पुगेको थापाले जानकारी दिए ।

 

नारायण–बुटवल सडक विस्तारको काम के–कसरी अघि बढेको छ र बन्द भएपछि वैकल्पिक व्यवस्था केही गर्न सकिन्छ कि भनेर सडक विभागको टोली अनुगमनमा निस्केको छ ।

 

‘हामी नारायण–बुटवल खण्डको सडक विस्तारको अवस्था बुझ्न र अनुगमन गर्न जाँदैछौं’ उनले भने, ‘उक्त सडक खण्ड पनि क्रसरकै कारणले बन्द हुने अवस्था रहेको बुझेका छौं,’ उनले भने ।

 

अवैधानिक क्रसर उद्योग बन्द हुँदा समग्र विकास आयोजनाका काममा प्रत्यक्ष प्रभाव पुग्ने देखिएको छ । गत पुस २० मा गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार गृहमन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई निर्देशनसहित पत्रचार गरेको थियो । मन्त्रालयको सोही निर्णयको विरोधमा अबैध क्रसर उद्योगले बैध उद्योगलाई पनि उत्पादन र ढुवानी रोक्न बाध्य बनाएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार