Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान दुर्घटनाः पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने

अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार भिसेरा र डिएनए परीक्षण गरेर मात्र हस्तान्तरण गर्न सकिने
सोमबार, माघ २, २०७९

पोखरा– पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाडाैँ लगिने भएको छ ।

 

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

 

उनका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।

 

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट आएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका थिए । शव राजधानी लैजान आज नै सेनाको हेलिकप्टर पोखरा आए पनि प्रक्रिया पूरा नहुँदा रोकिएको थियो ।

 

दुर्घटनामा परेको विमानको ककपिट  भ्वाइस  रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

 

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटिआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । दुघर्टनाग्रस्त विमानमा सवार चालकदलका सदस्यसहित ७२ सवार थिए । 

 

 

दुर्घटनास्थलबाट ६९ जनाको शव फेला परेको छ भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको छ ।

 

यती एयरलाइन्सले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनलाई थप जानकारीका लागि एअरलाइन्सको काठमाडौँमा पेम्बा शेर्पा (९८०१००७५३१) र  पोखरामा स्टेशन म्यानेजर राम लामिछाने (९८०२८२८८००) लाई सम्पर्क गर्न सकिने बताएको छ ।अस्पतालमा हर्क रावल (९८०२८११२२२) र सुष्मा श्रेष्ठ (९८०२८१२१११) सँग सूचना लिन सकिने एयरलाइन्सले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थप १ जनाको शव भेटियो
सोमबार, माघ २, २०७९

शव पोष्टमार्टम सुरू
सोमबार, माघ २, २०७९