Nic Ad Nic Ad
Nic Ad Nic Ad

२२ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, प्रचण्डका सारथी प्रायः सबै नयाँ अनुहार

मंगलबार, माघ ३, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबहाली गरेको २२ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् । 

 

आज दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम तय भएको छ । 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ गते राष्ट्रपतिसमक्ष शपथ लिएर पदबहाली गरेका थिए । 

 

त्यसदिन ७ जना मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री प्रचण्डले आज ३ राज्यमन्त्रीसहित १२ मन्त्री नियुक्त गरी पदबहाली गराउँदै छन् ।

 

संघीय सरकारमा प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने संवैधानिक व्यवस्था छ ।

 

मन्त्रिपरिषद्मा सहभागी गराउन दलहरूले मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराइसकेका छन् । मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीमध्ये सबैजसो युवा र नयाँ अनुहार देखिएको छ । 

 

नेकपा एमालेले विमला राई पौडेलललाई परराष्ट्र मन्त्री बनाउने भएको छ । त्यसैगरी पदम गिरीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । एमालेबाट मन्त्री सिफारिस भएका भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरि उप्रेतीलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने टुंगो भएको छ ।

 

त्यसैगरी, माओवादी केन्द्रबाट रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाउन लागिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउन लागेका सूदन किराँती पनि मन्त्रिपरिषद्मा नयाँ अनुसार हुन् ।

 

त्यसैगरी, माओवादीका युवा नेता अमनलाल मोदी पनि महत्वपूर्ण जिम्मेवारीसहित पहिलो पटक सिंहदरबार प्रवेश गर्न लागेका हुन् । 

 

माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाउने भएको छ । 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाउने भएको छ । त्यसैगरी, शिशिर खनाल शिक्षा मन्त्री र तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । उनीहरू सबैका लागि सिंहदरबार यात्रा पहिलो अनुभव हो । 

 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन नै मन्त्री हुने भएका छन् । उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । 

 

त्यसबाहेक ध्रुबहादुर प्रधान कानुन मन्त्री र विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्