तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, तत्काल थुनामुक्त नहुने
काठमाडौं ।अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाई दिएको छ । शहले नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका थिए । मंगलबार अदालतले उनलाई सफाइ दिएको हो ।
तनहुँ जिल्ला अदालतबाट सफाई पाए पनि शाहलाई नवलपुर जिल्ला अदालतले यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइसकेको छ । तनहुँबाट सफाइ पाए पनि उनी तत्काल थुनामुक्त भने हुने छैनन् ।
नवलपुर जिल्ला अदालतले सुनाएको साढे २ वर्ष कैद सजाय काटेपछि मात्रै उनी जेल मुक्त हुनेछन् । तनहुँका जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो ।
बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल मात्रै बहसमा सहभागी भएका थिए । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ ।