पोखरामा भएको विमान दुर्घटनामा चिनियाँ राष्ट्रपतिको समवेदना
काठमाडौँ– पोखरामा गत माघ १ गते भएको यती एअरलाइन्सको विमान दुर्घटनामा चिनियाँ राष्ट्रपति सी चिनफिङले समवेदना सन्देश पठाएका छन् । उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर दुःख व्यक्त गरेको नेपालीस्थित चिनियाँ दुताबासले मंगलवार बताएको छ ।
‘पोखरामा भएको विमान दुर्घटनामा मृतक र उनीहरुका परिवारहरुप्रति समवेदना व्यक्त गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले समवेदना सन्देश पठाउनु भएको छ’, नेपालका लागि चिनियाँ राजदूत चेन सङले भनेका छन् ।
त्यसैगरी, चीनका प्रधानमन्त्री ली खछ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डलाई पनि विमान दुर्घटनाको विषयमा समवेदना सन्देश पठाएको राजदूत सङले जानकारी दिए ।
काठमाडौंबाट पोखराका लागि गएको विमान गत आइतबार दुर्घटना भइ सेती नदीको खोचमा परेको थियो । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य सवार थिए ।