Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभामुख बन्दै स्वर्गीय नेता अधिकारी र भण्डारीसँगै काम गरेका घिमिरे

झापा विद्रोहबाट होमिएका थिए राजनीतिमा
बुधबार, माघ ४, २०७९

काठमाडौँ– प्रतिनिधिसभाको सभामुखको निर्वाचन बिहीबार हुँदै छ । सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले मंगलबार कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

 

सत्ता घटक र गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । 

 

सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार सभामुख पद एमालेको भागमा परेको थियो । उक्त भागबन्डाअनुसार गठबन्धनबाट घिमिरे सभामुखको उम्मेदवार हुने पक्का भएको हो । 

 

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार गठबन्धनबाट घिमिरेले उम्मेदवारी दर्ता गराउँदै छन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसद घिमिरेलाई सभामुख बनाउने भएपछि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र विद्या भट्टराई सभामुखको दौडबाट पछि हटेका छन् । एमालेभित्र सभामुखका लागि ४ जना आकांक्षी थिए । 

 

घिमिरेलाई ओलीले सभामुख बनाउने पक्का भएपछि अन्य आकांक्षीले दाबी छाडेको एमाले स्रोतले जनाएको छ । 

 

अध्यक्ष ओलीले सांसद घिमिरेलाई नागरिकता र दुइटा फोटो लिएर आउन भनेकाले उनी नै सभामुखको उम्मेदवार पक्का भएको र यो समाचार तयार पार्दासम्म उनी सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने प्रयोजनका लागि एमालेको सांसदीय दलको कार्यालयमा छलफलमा छन् ।

 

क्यानडा नेपालसँगको कुराकानीमा घिमिरेले पार्टीले दिएको जिम्मेवारीमा खरो उत्रिने जानकारी दिए । ‘म सिंगो संसद्लाई प्रभावकारी हुने गरी काम गर्छु । यो मेरा लागि चुनौती र दायित्व पनि हो,’ उनले भने । 

 

आफूसँग राजनीतिमा लामो समय काम गरेको अनुभव रहेको भन्दै उनले भने, ‘अहिलेका धेरै सांसदसँग काम पनि गरेको छु । त्यही भएर संसद्मा राम्रो भूमिका निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु । संसद् देशको महत्वपूर्ण अंग भएकाले सबै सांसदको सुझाव लिएर काम गर्छु ।’ 

 

घिमिरेको राजनीतिक यात्रा 

 

कम्युनिस्ट आन्दोलन हुँदै राजनीतिमा उदाएका उनी लामो समय स्व. नेता मनमोहन अधिकारी र मदन भण्डारीको नजिक भएर काम गरेका थिए । उनले २०४९ सालपछि अधिकारीसँग पार्टीभित्र संगठन विस्तारका लागि काम गरे । त्यसअघि उनी मदन भण्डारीसँगै देश दौडाहामा निस्केको एमालेका नेताहरू बताउँछन् । 

 

२०५२ सालपछि घिमिरे ओलीनिकट भएर काम गर्दै आएका थिए । ओली पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री भएका बेला उनले सचिवालयमा बसेर काम गरेका थिए । 

 

२०६६ सालयता घिमिरे ओलीको अत्यन्तै निकटका व्यक्ति हुन् । उनलाई ओलीले नै झापा– २ बाट टिकट दिएका दिए । पार्टीमा भने घिमिरे ओलीभन्दा पनि पुराना नेता हुन् । घिमिरेले ओलीभन्दा अघि नै पार्टीको सदस्यता लिएको एमालेका केही नेता बताउँछन् ।  

 

२०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा–३ मा जन्मिएका घिमिरे २०३१ को झापा विद्रोहपछि राजनीतिमा लागेका हुन् । एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज घिमिरे त्यसअघि २०७५ सालमा तत्कालीन नेकपाको प्रदेश १ अध्यक्ष थिए ।

 

२०५४ सालमा घिमिरे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । गत ४ मङ्सिरमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै घिमिरे प्रतिनिधिसभा सदस्य भए ।

 

झापाको अर्जुनधारा–६ का घिमिरेले स्वतन्त्र उम्मेदवार नेपाललाई २ हजार २६१ मतले पराजित गरेका थिए । घिमिरेले २८ हजार ७१६ मत प्राप्त गर्दा नेपालले २६ हजार ४५५ मत पाएका थिए ।

 

२०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुन् । उनले प्रदेशको संगठन सुधारका लागि महत्वपूर्ण योगदान गर्दै आएको एमालेका एक नेताले बताए ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्