Nic Ad Nic Ad
Nic Ad Nic Ad

पावर सेन्टर ‘बालकोट’ : सभामुख, उपप्रधानमन्त्री र मुख्यमन्त्री ओ‌लीकै जिल्लाका

बुधबार, माघ ४, २०७९

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाबाट ३ जना सांसद उच्च पदमा पुग्ने भएका छन् । 

 

सभामुख निर्वाचित हुने क्रममा रहेका देवराज घिमिरे, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की वर्तमान सत्ता गठबन्धनबाट उच्च पदमा पुगेकाहरू हुन् । 

 

उनीहरू सबै एमाले अध्यक्ष ओलीकै कारण उच्च पदमा पुगेका हुन् । सभामुख घिमिरे र मुख्यमन्त्री कार्की एमालेका ओलीनिकट नेता हुन् भने राप्रपा अध्यक्ष लिङ्देन २०७४ सालको निर्वाचनदेखि एमालेसँग गठबन्धन गरेर चुनाव लड्दै आएका छन् । 

 

झापा–२ बाट निर्वाचित एमालेका देवराज घिमिरे सभामुखको उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका कारण उनको जित ‘पक्का’ छ ।

 

घिमिरेलाई सत्ता गठबन्धनमा एमालेसहित नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टीको समर्थन छ । 

 

४ मङ्सिरमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपाललाई पराजित गर्दै घिमिरे प्रतिनिधिसभामा झापा–२ बाट निवार्चित भएका थिए । 

 

यस्तै, झापा–३ बाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा हारेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै संसद यात्रा तय गरेका थिए । 

 

सिटौलालाई हराएसँगै उनको चर्चा पनि चुलियो । गत ४ मङ्सिरको निर्वाचनमा पनि उनले सिटौलालाई नै हराउँदै झापा–३ बाट विजयी भएका हुन् ।

 

२०७८ मङ्सिरमा भएको राप्रपाको अधिवेशनमा कमल थापालाई २०० मतान्तरले हराउँदै लिङ्देन अध्यक्ष निर्वाचित भएका हुन् । योसँगै उनको चर्चा अझै बढेको थियो । अध्यक्ष लिङ्देन राजनीतिक यात्रा सुरु गरेको २३ वर्षपछि सत्ताको नेतृत्व तहमा पुगेका छन् । 

 

प्रदेश १ को मुख्यमन्त्री भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पनि झापाबाटै निर्वाचित प्रदेश सांसद हुन् । झापा–५(क) बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य पनि हुन् । 

 

अध्यक्ष ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री भएर २७ महिना काम गरेका थिए । यसपटक कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका छन् । उनले गत साता नै विश्वासको मत लिएका छन् ।

 

झापाले नेतृत्व पाउँदा त्यहाँका स्थानीयबासीले सामाजिक सञ्जालमार्फत खुसी बाँडेका छन् । उनीहरूले झापाका ३ जना व्यक्ति देशका महत्वपूर्ण पदमा पुगेकाले जिल्लामा विकास निर्माणले गति लिने विश्वास लिएका छन् । 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्