जसपा सरकारमा नजाने, समर्थन फिर्ता नलिने
काठमाडौँ–जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागि नहुने भएको छ ।
जसपा संसदीय दलको बुधबार बसेको बैठकले तत्काल प्रचण्ड नेतृत्वको सरकार र ७ दलीय गठबन्धनमा सहभागि नहुने निर्णय गरेको छ । तर पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको जसपा संसदीय दलका नेता रामसहाय यादवले जानकारी दिए ।
उनले भने,‘पार्टी वर्तमान सरकारमा सहभागि हुँदैन तर सरकारलाई दिएको समर्थन कायमै रहन्छ ।’
मन्त्रालय बाँडफाँटमा जसपा असन्तुष्ट रहेको छ । ४ मङ्सिरको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको जसपा १० पुसमा एमाले नेतृत्वमा बनेको ७ दलीय गठबन्धनमा पनि मिसिएको थियो ।
एमाले नेतृत्वको सत्ता साझेदार दलहरूसँग जसपाले उपराष्ट्रपति पद मागेको थियो । तर उपराष्ट्रपति पद नपाउने भएपछि जसपा आक्रोशित हुँदै मङ्गलबार विस्तार भएको मन्त्रिपरिषदमा सहभागी भएन ।
सभामुखमा कांग्रेसलाई सघाउने
पार्टीले बिहीबार हुने सभामुखको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नेछ ।
मन्त्रिपरिषद् विस्तारलाई लिएर तीव्र असन्तुष्टि जनाएको जसपाले सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरेको हो ।
७ दलीय गठबन्धनप्रति आक्रोशित जसपाले कांग्रेसकी सभामुख उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने निर्णय गरेको हो ।
न्यौपानेको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छने भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला छन् ।
न्यौपानेलाई कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी), जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन प्राप्त छ । सत्तारूढ दलहरूरुबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सत्तारुढ दलले सघाउने भएका छन् ।